राष्ट्र बैंकको प्रतिवेदन, ‘क्रिप्टो प्रयोग अपराध र सम्पत्ति शुद्धीकरणसँग जोडिएको छ’

काठमाडौँ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइ (एफआईयू) ले सार्वजनिक गरेको ‘भर्चुअल एसेट रणनीतिक विश्लेषण प्रतिवेदन–२०२५’ ले नेपालमा क्रिप्टोकरेन्सी लगायतका भर्चुअल एसेटसँग सम्बन्धित सबै प्रकारका कारोबार, प्रयोग तथा लगानी पूर्ण रूपमा गैरकानुनी रहेको स्पष्ट गरेको छ । केन्द्रीय बैंकले यस्ता गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न व्यक्ति तथा संस्थामाथि प्रचलित कानुनअनुसार कडा कारबाही अघि बढाइने चेतावनी दिएको छ ।
राष्ट्र बैंकका अनुसार भर्चुअल एसेटको प्रयोगले सम्पत्ति शुद्धीकरण, आतंकवादी गतिविधिमा वित्तीय सहयोग र विनाशकारी हातहतियार निर्माणजस्ता गम्भीर अपराधलाई प्रोत्साहन गर्न सक्ने जोखिम उच्च छ । प्रतिवेदनले नेपालमा भर्चुअल एसेट विशेष गरी अवैध विदेशी विनिमय कारोबार (हुन्डी), अनलाइन ठगी, अनलाइन जुवा तथा ‘मनी–म्युल’ जस्ता आपराधिक गतिविधिसँग जोडिएर प्रयोग भइरहेको देखाएको छ ।
यस्ता माध्यममार्फत औपचारिक वित्तीय प्रणालीलाई छलेर सीमापार मूल्य स्थानान्तरण गर्ने र अवैध आम्दानी लुकाउने कार्य सहज बनेको राष्ट्र बैंकको निष्कर्ष छ । यसले वित्तीय प्रणालीको पारदर्शिता, स्थायित्व र विश्वसनीयतामाथि गम्भीर चुनौती थपिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
भर्चुअल एसेटको अनुसन्धान तथा नियन्त्रणमा प्राविधिक जटिलता, सीमापार अधिकार क्षेत्रसँग सम्बन्धित समस्या र जफत तथा व्यवस्थापनका व्यावहारिक कठिनाइ प्रमुख चुनौतीका रूपमा देखिएका छन् । राष्ट्र बैंकका अनुसार यी कारणले यस्ता गतिविधिको पहिचान र कारबाही प्रक्रिया अझ जटिल बन्दै गएको छ ।
यो प्रतिवेदन सन् २०२१ जनवरीदेखि २०२४ जुलाईसम्म प्राप्त शंकास्पद कारोबार प्रतिवेदन, साथै अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिक विश्लेषणका आधारमा तयार गरिएको हो । वित्तीय जानकारी एकाइले सूचक संस्थाहरू, नियामक निकाय र कानुन कार्यान्वयन गर्ने निकायहरूका लागि विभिन्न सुझाव पनि अघि सारेको छ ।











