पार्टीको वनभोज खान हेलिकोप्टर प्रयोग, बागमतीका मुख्यमन्त्री विवादमा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ हेलिकोप्टर चढेर वनभोज खान गएपछि सामाजिक सञ्चालकमा उनको चर्काे आलोचना भइरहेको छ।
बिहीबार सिरहाको धनगढीमाई नगरपालिकामा आयोजना गरिएको एक वनभोज कार्याक्रममा सहभागी हुन बानियाँ हेटौंडाबाट हेलिकोप्टर चढेर गएपछि उनको आलोचना भइरहेको हो।
नेपाली कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवले अंग्रेजी क्यालेण्डरको नयाँ वर्ष (जनवरी १) को अवसरमा धनगढीमाई–१४ मा वनभोज कार्यक्रमको आयोजना गरेका थिए।

सोही वनभोजमा सरिक हुनकै लागि मुख्यमन्त्री बानियाँ हेलिकोप्टर चढेर पुगेपछि सामाजिक सञ्जालमा चर्काे बहस छेडिएको हो। यतिबेला मधेश प्रदेश शीतलहरले कठ्याङ्ग्रीरहेको बेलामा वनभोज खानकै लागि हेलिकोप्टर चढी सरकारी कोषको चरम दुरुपयोग गरेको भन्दै आम नागरिकले प्रश्न उठाएका हुन्।
भदौ २३ र २४ गते सरकार ढल्ने गरी भएको भ्रष्टाचार र कुशासन विरोधी आन्दोलपन पछि पनि अझै नेताहरूको पुरानो शैलीमा परिवर्तन नआएको भन्दै जेन–जी युवाहरूले आक्रोश व्यक्त गरिरहेका छन्।













