हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, अब कहाँको कति ?

१८ पुष २०८२, शुक्रबार १६:५०

काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई यात्रुका लागि न्यूनतम भाडा घटाएको छ । नेपाल आयल निगमले पुस १६ गतेदेखि हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएपछि त्यसको प्रभाव हवाई भाडामा देखिएको हो ।

यसअघि प्रतिलिटर १३४ रुपैयाँ रहेको हवाई इन्धनको मूल्य घटेर १२८ रुपैयाँ कायम भएपछि प्राधिकरणले भाडादर समायोजन गरेको हो । नयाँ भाडादरअनुसार फ्युल सरचार्ज प्रतिसिट प्रतिमिनेट ६८.०९ रुपैयाँ तोकिएको छ ।

समायोजित भाडादर अनुसार काठमाडौंबाट हुने पर्वतीय (माउन्टेन) उडानको न्यूनतम भाडा ४ हजार ६ सय रुपैयाँबाट घटेर ४ हजार ३९० रुपैयाँ कायम गरिएको छ । त्यस्तै, काठमाडौं–भद्रपुर उडानको भाडा चार हजार २५ रुपैयाँबाट घटेर तीन हजार ८४५ रुपैयाँ पुगेको छ । काठमाडौं–विराटनगर उडानको न्यूनतम भाडा तीन हजार ७५ रुपैयाँ निर्धारण गरिएको छ ।

काठमाडौंबाट सबैभन्दा टाढाको गन्तव्य धनगढीका लागि भने सबैभन्दा धेरै भाडा घटेको छ । यस उडानमा २ सय ६५ रुपैयाँ भाडा घटेर अब न्यूनतम भाडा ५ हजार ६ सय ५५ रुपैयाँ कायम भएको छ ।

प्राधिकरणका अनुसार अन्य विभिन्न गन्तव्यमा पनि भाडा समायोजन गरिएको छ । काठमाडौंबाट माउन्टेन फ्लाइटमा २१० रुपैयाँ, भद्रपुरमा १८० रुपैयाँ, विराटनगरमा १४० रुपैयाँ, जनकपुरमा ७५ रुपैयाँ, पोखरामा ९५ रुपैयाँ, भरतपुरमा ६५ रुपैयाँ, भैरहवामा १२५ रुपैयाँ, नेपालगञ्जमा १९५ रुपैयाँ, तुम्लिङटारमा ११० रुपैयाँ, सिमरामा ५५ रुपैयाँ, सुर्खेतमा २१० रुपैयाँ र राजविराजमा १२५ रुपैयाँ भाडा घटाइएको छ ।

हवाई इन्धनको मूल्य घटेपछि भाडादर समायोजन हुँदा आन्तरिक हवाई यात्रुहरूलाई प्रत्यक्ष राहत मिल्ने अपेक्षा गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*