छ कम्पनीको साधारणसभा आज, तीनले लाभांश र दुईले हकप्रद पारित गर्ने

काठमाडौं । आज पुस २१ गते नेप्सेमा सूचीकृत छ कम्पनीहरूको वार्षिक साधारणसभा बस्दैछ भने तीमध्ये तीन कम्पनीले लाभांश र दुई कम्पनीले हकप्रद शेयरको प्रस्ताव पारित गर्नेछन्।
महालक्ष्मी विकास बैंकले ५ प्रतिशत बोनस शेयर र ५.३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ। बैंकको सभा आज काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजेदेखि शुरू हुनेछ।
मिड सोलु हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर र ०.७८९० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। यो निर्णय पारित गर्न आज काठमाडौंको बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा दिउँसो १ बजेदेखि सभा बस्दैछ।
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले १.५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। प्रस्ताव पारितका लागि आज काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान १० बजेदेखि सभा बस्नेछ।
यता सिंगटी हाइड्रो इनर्जी लिमिटेडले १ः१ को अनुपातमा, दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले पनि हकप्रद शेयर निष्कासनको प्रस्ताव सहित सभा बस्दैछ भने युनियन हाइड्रोपावरले लाभांश वा हकप्रद प्रस्ताव नगरिकनै वार्षिक साधारणसभा बस्दैछ।













