दक्षिण कोरियाले अवैध आप्रवासी निकाल्दै, स्वेच्छाले फर्किए जरिवाना र प्रवेश प्रतिबन्ध हटाइने

काठमाडौं । दक्षिण कोरियाको सरकारले अवैध रूपमा बसेका विदेशीहरूलाई देश निकाला गर्ने भएको छ भने स्वेच्छाले फर्कन चाहनेलाई सुविधा समेत उपलब्ध गराउने भएको छ।
दक्षिण कोरियाको न्याय मन्त्रालयले अवैध रूपमा बसेका विदेशी नागरिकहरूलाई देश निकाला गर्ने र यदि कुनै अवैध नागरिक स्वेच्छाले स्वदेश फर्किन चाहेमा ‘स्वेच्छिक प्रस्थान प्रणाली बमोजिम’ सुविधा समेत उपलब्ध गराउने भएको हो।
भिसा सकिएर, अनुमति नभईकन वा अन्य कारण अवैध रूपमा बसेका विदेशी नागरिकहरू २८ फेब्रुअरीसम्म स्वेच्छाले स्वेदश फर्किन चाहेको खण्डमा त्यस्ता नागरिकलाई जरिवानामा माफी दिइनुका साथै भविष्यमा कोरिया प्रवेशमा प्रतिबन्ध समेत हट्न सक्ने कोरियाली सरकारले बताएको छ।
यद्यपि नक्कली कागजात भएका, आपराधिक गतिविधिमा संलग्न भएका, डिपोर्टेशन अर्डर पालन नगरेका र सन् २०२५ डिसेम्बर १ पछि अवैध बनेका व्यक्तिको हकमा भने यो सुविधा लागू नहुने दक्षिण कोरियाको सिओलस्थित नेपाली राजदूतावासले जनाएको छ।
दूतावासले स्वेच्छाले फर्किन चाहने अवैध नेपाली नागरिकलाई सहजीकरण गर्ने बताएको छ। यसका लागि राहदानी र हवाई टिकट पेश गर्नु पर्ने र आफू रहेको स्थान नजिकको अध्यागमन कार्यालयमा उपस्थित भई वा स्वैच्छिक प्रस्थान रिपोर्ट फाराम भर्नु पर्ने बताएको छ।













