पुँजी बजारमा उत्साहः कारोबार र परिसूचकमा रौनक, के लगानीको उत्तम समय हो ?

काठमाडौँ । दुई दिन लगातार ओरालो लागेको शेयर बजारमा आज हरियाली देखिएको छ । बजारमा सुधार देखिएसँगै लगानीकर्तामा उत्साहको वातावरण सिर्जना भएको छ । पछिल्ला केही साता यता बजार करेक्सन हुँदै अघि बढिरहेको अवस्थामा आजको हरियालीले लगानीकर्ताको मनोबल विस्तारै बलियो बन्दै गएको संकेत गरेको छ । करेक्सनपछि बजार थप मजबुत आधारमा अघि बढ्ने विश्वास लगानीकर्ताहरूले व्यक्त गरेका छन् ।
यता देश राजनीतिक रूपमा पनि नयाँ मोडमा पुगेको छ । जेनजी आन्दोलनपछि विकसित परिस्थितिले देश निर्वाचनतर्फ अघि बढेको छ । आगामी दिनमा नयाँ नेतृत्व चयन हुने प्रक्रियालाई बजारले सकारात्मक रूपमा हेर्ने अपेक्षा गरिएको छ । करिब ६२ हजारभन्दा बढी लगानीकर्ता आबद्ध रहेको शेयर बजारप्रति सरकारले पनि सकारात्मक दृष्टिकोण राख्ने विश्वास बजार सहभागीहरूको रहेको छ ।
नियामक निकायहरू समेत पछिल्लो समय शेयर बजारप्रति सकारात्मक देखिएका छन् । बजारलाई प्रभावित गर्दै आएका केही नीतिगत बाधाहरू क्रमशः फुकुवा हुँदै गएका छन् । नेपाल राष्ट्र बैंकले बजारलाई चलायमान बनाउन विभिन्न प्रयास गरिरहेको छ भने अर्थमन्त्रालय र नेपाल धितोपत्र बोर्ड पनि लगानीकर्ता–मैत्री नीतितर्फ उन्मुख हुँदै गएका छन् । यसले आगामी दिनमा बजारमा थप उत्साह आउने अपेक्षा गरिएको छ ।
तर, निर्वाचनले बजारमा केही सामान्य असर पार्न सक्ने विश्लेषकहरूको भनाइ पनि छ । निर्वाचनपछि कस्तो नेतृत्व आउँछ भन्ने अन्योलताका कारण लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहने सम्भावना रहेको आँकलन गरिएको छ । यद्यपि, दीर्घकालीन रूपमा राजनीतिक स्थायित्व र नीतिगत स्पष्टताले बजारलाई सकारात्मक दिशामा लैजाने विश्वास कायमै रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.७३ अकंले बढेर २६३९.३७ बिन्दुमा आएको छ । आज ३३५ कम्पनीको १ करोड २४ लाख ५९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड ३७ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज वाणिज्य बैंक समूहको ०.६५ प्रतिशत, विकास बैंक समूहको २.७० प्रतिशत, फाइनान्स समूहको ०.८३ प्रतिशत, होटल तथा पर्यटन समूहको २.५३ प्रतिशत, हाइड्रोपावर समूहको १.४४ प्रतिशतले शेयर मूल्य बढेको देखिन्छ ।
सोमबार २१४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको घटेको छ । ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
आज ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सागर डिष्टिलरी, एसवाई प्यानल, बन्दिपुर केवलकारसहित ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो ।













