नबिल बैंक ‘विकास नायक २०८२’ अवार्डद्वारा सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड ‘विकास नायक २०८२’ अवार्डबाट सम्मानित भएको छ। विकास मिडियाद्वारा आयोजित विकास बहस तथा विकास नायक सम्मान समारोहमा बैंकलाई संस्थागत नायकको रूपमा यो अवार्ड प्रदान गरिएको हो।
आइतबार आयोजना गरिएको उक्त कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीलाई अवार्ड तथा सम्मान पत्र प्रदान गरेका थिए। बैंक तथा बीमा क्षेत्र सहित वित्तीय क्षेत्र मार्फत् नेपालको आर्थिक विकासमा पुर्याएको योगदानको कदर स्वरूप नबिल बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो।
चार दशकभन्दा बढी समयदेखि नबिल बैंकले वित्तीय समावेशीकरण, डिजिटल नवप्रवर्तन तथा प्राथमिकताप्राप्त क्षेत्रहरूमा लगानी मार्फत् नेपालको बैंकिङ क्षेत्रको नेतृत्व गर्दै आएको छ। गुणस्तरीय वित्तीय सेवामा पहुँच विस्तार, देशव्यापी डिजिटल बैंकिङ सेवा, उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन र राष्ट्रिय राजस्वमा योगदान नबिल बैंकका प्रमुख उपलब्धिहरू हुन्।
सम्मानप्रति प्रतिक्रिया दिंदै नबिल बैंकका सीईओ ज्ञवालीले भने, ‘विकास नायक २०८२ सम्मान प्राप्त गर्नु नबिल बैंकका लागि गर्वको विषय हो। यो सम्मान नबिल बैंकको चार दशक लामो राष्ट्र निर्माण यात्राको कदर पनि हो।’ उनले थपे, ‘वित्तीय समावेशीकरण, डिजिटल नवप्रवर्तन, रोजगारी सृजना, राजस्वमा दिइएको टेवा, ऊर्जा तथा पूर्वाधार विकास मार्फत् दिगो आर्थिक वृद्धि हासिल गर्ने हाम्रो प्रतिबद्धतालाई यसले थप सुदृढ बनाएको छ।’ सम्वृद्ध नेपाल, सुखी नेपालीको परिकल्पनालाई यस्तो सम्मानले आधार दिएको बताउँदै उनले यो सम्मानले देश विकासमा अझ टेवा पुर्याउन ऊर्जा प्रदान गरेको बताए।
नेपालको बैंकिङ रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै नबिल बैंक सन् १९८४ मा पहिलो संयुक्त लगानी बैंकको रूपमा स्थापना भएको थियो। पहिलो कम्प्युटराइज्ड बैंकको शुरुवात गर्दै बैंकिङमा नयाँ आयाम थपेको नबिल बैंकले आफ्नो सेवाको गुणस्तर, कार्यक्षमता र नवप्रवर्तनमा नयाँ मापदण्ड स्थापित गरेको छ। एनबैंक एप जस्ता डिजिटल प्लेटफर्म मार्फत् समय, दूरी र लागत घटाउँदै सेवाबाट वञ्चित समुदायसम्म बैंकिङ सेवा विस्तार गरेको छ।
ऊर्जा तथा पूर्वाधार विकासमा नबिल बैंक राष्ट्रिय अर्थतन्त्रको प्रमुख उत्प्रेरक रहँदै आएको छ। सन् १९९८ मा जलविद्युत् क्षेत्रमा लगानी गर्ने पहिलो वाणिज्य बैंक बनेको नबिलले ऊर्जा क्षेत्रमा करीब ७५ अर्ब रुपैयाँ प्रतिबद्धता गर्दै ३ हजार १०० मेगावाटभन्दा बढी ऊर्जा परियोजनामा वित्तीय सहयोग गरेको छ। जलविद्युत्, सौर्य ऊर्जा, नवीकरणीय ऊर्जा, विद्युतीय सवारी, राष्ट्रिय गौरवका आयोजनामा कन्सोर्टियम वित्तपोषण मार्फत् बैंकले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ।
राष्ट्रिय राजस्वमा बलियो योगदान पुर्याउँदै नबिल बैंक वित्तीय क्षेत्रकै आठ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भइसकेको छ। पारदर्शिता, सुशासन तथा औपचारिक अर्थतन्त्र प्रवर्द्धनमा बैंक निरन्तर प्रतिबद्ध रहेको जनाएको छ। बैंकिङ्गभन्दा पर सामाजिक उत्तरदायित्वमा पनि नबिल बैंक सक्रिय छ। विपद् प्रतिक्रिया, शिक्षा, स्वास्थ्य तथा वित्तीय साक्षरतामा योगदान गर्दै आएको बैंकले नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप मार्फत् १९३ उद्यमलाई सहयोग गर्दै १७ हजारभन्दा बढी रोजगारी सिर्जना गर्न योगदान गरेको छ।












