छिपहरमाई गाउँपालिकामा झुट्टा बोलपत्र सूचना, अध्यक्षसहित कर्मचारी र व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा

२३ पुष २०८२, बुधबार १७:०७

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला पर्साको छिपहरमाई गाउँपालिकामा ठेक्का आह्वानका क्रममा झुट्टा सूचना प्रकाशन गरी रकम भुक्तानी गरिएको अभियोगमा गाउँपालिका अध्यक्षसहित कर्मचारी र निर्माण व्यवसायीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ।

आयोगका अनुसार छिपहरमाई गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि विभिन्न योजनामा ठेक्का आह्वान गर्दा राष्ट्रियस्तरको सौर्य दैनिक पत्रिकामा सूचना प्रकाशित गरिएको भनी देखाइए पनि सम्बन्धित मितिमा उक्त पत्रिकामा कुनै सूचना प्रकाशित भएको नदेखिएको पाइएको छ। यस सम्बन्धमा उजुरी परेपछि गरिएको अनुसन्धानमा योजनाबद्ध रूपमा झुट्टा सूचना प्रकाशन गरी भुक्तानी गरिएको पुष्टि भएको अख्तियारको भनाइ छ।

अनुसन्धानका क्रममा खानेपानीका लागि ट्युबवेल जडान, छिपहरमाई स्टेडियम निर्माण र चार कोठे भवन निर्माण कार्यक्रमका लागि २०७९ माघ १७ गते सौर्य दैनिकमा बोलपत्र आह्वानको सूचना प्रकाशित गरिएको देखाइए पनि प्रेस काउन्सिल नेपालबाट प्राप्त प्रमाणित हार्डकपी र पीडीएफ प्रतिमा ती सूचनाहरू नभेटिएको अख्तियारले जनाएको छ। यस्तै, दलित आवास भवन निर्माणका लागि २०७९ फागुन १९ गते प्रकाशित भनिएको सूचना पनि सम्बन्धित पत्रिकामा नदेखिएको आयोगको निष्कर्ष छ।

अख्तियारका अनुसार सूचना विवरण लुकाउने मनसायले गाउँपालिका अध्यक्ष मनोज कुमार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साह, लेखापाल संजय पटेल तथा विज्ञापन एजेन्सी के.एस. मल्टिपर्पोज प्रा.लि. वीरगंजका सञ्चालक कमल कुमार उपाध्यायको मिलेमतोमा झुट्टा सूचना प्रकाशित गरिएको देखाइयो। सोही आधारमा विज्ञापन वापत के.एस. मल्टिपर्पोज प्रा.लि.लाई पहिलो चरणमा २ लाख ३३ हजार ९१० रुपैयाँ र दोस्रो चरणमा १ लाख ९५ हजार ४९० रुपैयाँ गरी जम्मा ४ लाख २९ हजार ४ सय रुपैयाँ भुक्तानी गरिएको अख्तियारले जनाएको छ।

आयोगले गैरकानूनी लाभ पुर्‍याउने बदनियतसहित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसूर भएको ठहर गर्दै छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमारविरुद्ध बिगो ४ लाख २९ हजार ४ सय रुपैयाँ कायम गरी कैद, जरिवाना तथा बिगो असुल उपरको सजाय मागदाबी लिएको छ। साथै, निजलाई ऐनको दफा २४ बमोजिम थप सजायको मागसमेत गरिएको छ।

त्यसैगरी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साह र लेखापाल संजय पटेलविरुद्ध पनि जनही ४ लाख २९ हजार ४ सय रुपैयाँ बिगो कायम गरी कैद र जरिवानासहित बिगो असुल उपरको मागदाबी गरिएको छ। विज्ञापन एजेन्सी के.एस. मल्टिपर्पोज प्रा.लि. वीरगंज र त्यसका सञ्चालक कमल कुमार उपाध्यायलाई मुख्य कसूरदारका मतियारका रूपमा देखाउँदै मुख्य कसूरदार सरहकै सजाय हुन मागदाबी लिइएको अख्तियारले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*