लाभांश पारित गर्न ४ कम्पनीको साधारणसभा आज बस्दै

काठमाडौं । लाभांश पारितको प्रस्ताव सहित आज ४ वटा कम्पनीहरूको वार्षिक साधारणसभा बस्दैछ। यस दिन सन नेपाल लाइफ इन्स्योरेन्स, साना किसान विकास लघुवित्त, स्वावलम्बन लघुवित्त र रुरु जलविद्युत परियोजनाको साधारणसभा बस्न लागेको हो।
सन नेपाल लाइफले चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १५.२६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ। प्रस्ताव पारितका लागि आज काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटर्स प्रा.लि. मा बिहान साढे १० बजेदेखि सभा बस्दैछ।
साना किसान विकास लघुवित्तले चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ। घोषित लाभांश पारितका लागि आज काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ः१५ बजेदेखि सभा बस्दैछ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजीको ५.६३६५ प्रतिशत बोनस शेयर र ४.३६३५ प्रतिशत नगद लाभांश दिने भएको छ। लाभांश पारितका लागि आज काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्समा बिहान ११ बजेदेखि सभा शुरू हुँदैछ।
रुरु जलविद्युत परियोजनाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ५.७८९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। घोषित लाभांश पारित गर्नका लागि काठमाडौंको चाबहिलस्थित स्मार्ट प्यालेस एण्ड इभन्टमा बिहान ११ बजेदेखि सभा शुरू हुँदैछ।













