विभागले देशभर फार्मेसीमा छापा: गुणस्तरहीन लेभोफ्लक्स ५०० फिर्ता

२५ पुष २०८२, शुक्रबार १४:१०

काठमाडौं । औषधी व्यवस्था विभागले बजारमा आएको लेभोफ्लक्स ५०० ट्याबलेट फिर्ता मागेको छ। राष्ट्रिय औषधी प्रयोगशालाले परीक्षण गर्दा उक्त औषधी गुणस्तरहीन रहेको पाइएको छ। विभागका अनुसार गुणस्तर नभएको औषधी तुरुन्तै बजारबाट फिर्ता पठाउन निर्देशन दिइएको छ।

यो औषधी बारामा आधारित म्याग्नेस फर्मा कम्पनीले उत्पादन गरेको बीबी २४००१ ब्याचको हो। गुणस्तर परीक्षणपछि विभागले सो औषधी बजारबाट फिर्ता माग्नुपरेको हो। लेभोफ्लक्स ५०० तेस्रो पुस्ताको एन्टिबायोटिक हो र ब्रोंकाइटिस, निमोनिया, छालाको संक्रमण र मुत्रनलीको संक्रमण जस्ता गम्भीर ब्याक्टेरियल संक्रमणको उपचारमा प्रयोग हुन्छ।

नमुना परीक्षण २०२५ फेब्रुअरीमा संकलन गरिएको भए पनि गुणस्तर नभएको पत्ता लाग्न करिब एक वर्ष लागेको विभागले जनाएको छ। विभागले २०२६ जनवरीमा गुणस्तरबारे जानकारी पाएपछि फिर्ता माग्न निर्देशन दिएको हो। तथापि बजारमा धेरैजसो औषधी बिक्री भइसकेको वा प्रयोग भइसकेको हुन सक्ने अनुमान गरिएको छ।

विभागका अनुसार जनशक्ति अभावका कारण काम ढिला भएको हो। हाल देशभरका करिब २ हजार ५ सय फार्मेसीमा औषधी निरीक्षकले निरीक्षण गरी बजारमा बाँकी औषधीको जानकारी सङ्कलन गर्दैछन्। कम्पनीलाई गुणस्तरीय औषधी निर्माण गर्न र फिर्ता प्रक्रिया पूर्ण गर्न निर्देशन समेत दिइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*