क्यासिनो कारोबार पारदर्शी बनाउन नयाँ व्यवस्था, २ लाख नाघ्ने खर्चमा विवरण राख्नैपर्ने

काठमाडौँ । क्यासिनोमा आउने ग्राहकले २ लाख रुपैयाँभन्दा बढी खर्च गरेमा उनीहरूको विवरण अनिवार्य रूपमा सङ्कलन गरी अभिलेख राख्नुपर्ने व्यवस्था लागू गरिएको छ । पर्यटन विभागले क्यासिनो व्यवसायीहरूका लागि जारी गरेको निर्देशन, २०८२ लाई संशोधन गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
पर्यटन विभागका अनुसार क्यासिनो क्षेत्रमा हुने आर्थिक कारोबारलाई पारदर्शी, जिम्मेवार र कानुनसम्मत बनाउने उद्देश्यले यो व्यवस्था गरिएको हो । अब क्यासिनोमा प्रवेश गर्ने तथा खेल गतिविधिमा संलग्न भई २ लाख रुपैयाँभन्दा बढी खर्च गर्ने ग्राहकको परिचय खुल्ने विवरण, कारोबारसम्बन्धी जानकारी तथा आवश्यक कागजात क्यासिनो सञ्चालकले सुरक्षित रूपमा सङ्कलन गरी अभिलेख राख्नुपर्नेछ ।
विभागले यस व्यवस्थाबाट क्यासिनो व्यवसायमा हुने अवैध आर्थिक गतिविधि नियन्त्रण गर्न, वित्तीय अनुशासन कायम गर्न र नियामक निकायको अनुगमनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिएको छ ।













