सिरहाको सीमावर्ती क्षेत्रबाट १० लाखभन्दा बढी नगदसहित युवक पक्राउ

२७ पुष २०८२, आईतवार १५:२५

काठमाडौँ । सिरहाको सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको ठूलो परिमाणको नेपाली रुपैयाँसहित एक युवक पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय इनर्वा, सिरहाबाट परिचालित टोलीले आइतबार दिउँसो करिब १ बजेको समयमा भगवानपुर गाउँपालिका–४ ठाडीस्थित दशगजा क्षेत्र नजिक चेकजाँचका क्रममा उनलाई नियन्त्रणमा लिएको हो।

मुख्य सीमा स्तम्भ नम्बर २४६ आसपास भारतबाट नेपाल प्रवेश गर्ने क्रममा शंकास्पद गतिविधि देखिएपछि गरिएको जाँचमा भगवानपुर गाउँपालिका–३ मरिकटोलका २४ वर्षीय देवनाथ यादवको साथबाट स्रोत खुल्न नसकेको नेपाली रुपैयाँ १० लाख ३ हजार ९ सय ९० रुपैयाँ नगद बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

नगद रकमसँगै उनले प्रयोग गरेको एक थान मोटरसाइकल र मोबाइल फोन पनि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानपछि पक्राउ परेका व्यक्ति तथा बरामद नगद र सामग्रीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*