सुरक्षित भनिएको म्युचुअल फण्ड नै संकटमा, लगानीकर्ताको लगानी बन्दै बालुवा पानी!

२७ पुष २०८२, आईतवार १७:१०

काठमाडौँ । पछिल्लो समय म्युचुअल फण्डमा गरिएको लगानीलाई धेरै लगानीकर्ताले ‘बालुवामा पानी’ सँग दाँज्न थालेका छन् । सुरुमा सुरक्षित र व्यावसायिक लगानीको विकल्पका रूपमा हेरिएको म्युचुअल फण्ड सेक्टर अहिले खस्किँदो वित्तीय अवस्था, न्याभको निरन्तर गिरावट र अपेक्षाअनुसार प्रतिफल नआउँदा आम लगानीकर्ताको मोह घट्दै गइरहेको देखिएको हो ।

बजारमा सूचीकृत धेरै म्युचुअल फण्डको मूल्य अंकित मूल्यभन्दा तल झरेको छ भने केही फण्डले लगानीकर्तालाई बाँड्ने नगद लाभांश नै रोक्नु परेको अवस्था देखिएको छ । म्युचुअल फण्डको मूल उद्देश्य आम लगानीकर्ताबाट सानो–सानो रकम संकलन गरी त्यसलाई शेयर, ऋणपत्र, बण्ड, आईपीओ तथा हकप्रद शेयरजस्ता उपकरणमा लगानी गरेर जोखिम न्यूनिकरणसहित प्रतिफल दिनु हो । तर व्यवहारमा बजार खस्किँदा फण्डको सम्पत्ति मूल्य घट्ने, न्याभ तल झर्ने र त्यसको प्रत्यक्ष असर लगानीकर्तामाथि पर्ने गरेको छ । पछिल्ला केही वर्षयता शेयर बजार अपेक्षाकृत सुस्त बन्दा म्युचुअल फण्डको आम्दानी संकुचित हुँदै गएको देखिन्छ ।

फण्डले नाफा आर्जन गरेकै आधारमा मात्र लगानीकर्तालाई प्रतिफल बाँड्न सक्ने हुँदा घाटामा गएका वर्षमा नगद लाभांश नआउने जोखिम सधैँ रहन्छ । यही अनिश्चितताले लगानीकर्ताको विश्वास कमजोर बन्दै गएको हो । धेरै लगानीकर्ताले म्युचुअल फण्डलाई बैंकको मुद्दती निक्षेपजस्तै निश्चित र सुरक्षित साधन ठानेर प्रवेश गरे पनि व्यवहारमा त्यो अपेक्षा पूरा हुन नसक्दा निराशा बढेको देखिन्छ ।

हाल बैंक तथा वित्तीय संस्थाले दिने मुद्दती निक्षेपको ब्याजदर तुलनात्मक रूपमा आकर्षक देखिन थालेको छ । जोखिम नलिई निश्चित ब्याज पाइने विकल्प उपलब्ध हुँदा जोखिमयुक्त म्युचुअल फण्डतर्फ आकर्षण घट्नु स्वाभाविक बनेको छ । बैंकमा राखिएको रकममा मूलधन सुरक्षित रहने र तोकिएको ब्याज सुनिश्चित हुने हुँदा धेरै लगानीकर्ता फण्डभन्दा निक्षेपतर्फ फर्किन थालेका छन् । यसले म्युचुअल फण्ड बजारमा थप दबाब सिर्जना गरेको छ ।

कतिपय लगानीकर्ताले म्युचुअल फण्डबाट वार्षिक २० देखि ३० प्रतिशतसम्म रिटर्नको अपेक्षा गर्ने गरेका छन् । तर बजारको यथार्थ हेर्दा यस्तो अपेक्षा अवास्तविक सावित हुँदै आएको छ । म्युचुअल फण्डको प्रतिफल समग्र पुँजी बजारको चालसँग प्रत्यक्ष जोडिएको हुन्छ । बजार ओरालो लाग्दा फण्ड जोगिने आधार कमजोर हुन्छ । यस अवस्थामा निश्चित रिटर्न खोज्ने लगानीकर्ताका लागि म्युचुअल फण्ड उपयुक्त साधन बन्न सकेको छैन ।

म्युचुअल फण्डमा लगानी गर्दा सबै फण्ड समान हुँदैनन् भन्ने तथ्यलाई पनि ध्यान दिन आवश्यक हुन्छ । फण्डको पोर्टफोलियो कस्तो छ, कुन–कुन सेक्टरमा कति लगानी गरिएको छ, खर्च संरचना कति छ, व्यवस्थापन शुल्क कति लिइएको छ, न्याभको दीर्घकालीन ट्रेन्ड कस्तो छ भन्ने विषय अध्ययन नगरी गरिएको लगानी जोखिमपूर्ण हुन सक्छ । धेरै लगानीकर्ता यस्ता पक्ष बेवास्ता गरेर केवल नाम वा प्रचारका भरमा फण्ड किन्दा पछि घाटा बेहोर्न बाध्य भएका उदाहरण प्रशस्तै छन् ।

म्युचुअल फण्ड न त पूर्ण सुरक्षित साधन हो, न त चाँडै धनी बनाउने उपाय । बजारको अवस्था, लगानी अवधि र लगानीकर्ताको जोखिम वहन गर्ने क्षमतामा यसको सफलताले निर्भर गर्छ । तथ्य र यथार्थ नबुझी लगानी गर्दा प्रतिफल हात लाग्नुभन्दा आशा बालुवामा पानीझैँ बिलाउने खतरा बढ्दो छ ।

४५ फण्डको नाफा ऋणत्मक

हाल सञ्चालनमा रहेका ५२ म्युचुअल फण्डमध्ये चालु आर्थिक वर्ष २०८२।०८३ को मंसिर महिनामा ७ फण्ड मात्रै नाफामा देखिएका छन् । ४५ फण्डको नाफा भने ऋणात्मक देखिएको हो । बजारमा देखि रहेको उतार चढाबका बीच फण्डको मुनाफामा भारी गिरावट देखिन थालेको हो ।

मंसिरमा सनराइज फोकस्ड इक्विटी फण्ड ३ करोड ३३ लाख, सिटिजन्स सुपर ३० म्युचुअल फण्ड १ करोड ५७ लाख, सानिमा ग्रोथ फण्ड १ करोड ३० लाख, सनराइज फस्र्ट म्युचुअल फण्ड १ करोड १५ लाख, एमबीएल इक्विटी फण्ड ९४ लाख, रिलायबल समृद्धि योजना ९१ लाख र लक्ष्मी भ्यालु फण्ड–२ ३४ लाख रुपैयाँ नाफामा रहेका छन् । अन्य सबैको मुनाफा भने ऋणात्मक रहेको हो ।

यसअवधिमा सबैभन्दा बढी घाटामा रहेको फण्डमा एनआइबीएल सहभागिता फण्ड रहेको छ । मंसिर महिनामा उक्त फण्डले ४८ करोड ६० लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।

त्यस्तै, एचएलआई लार्ज क्याप फण्ड २२ करोड ३५ लाख, एनएमबि सरल बचत फण्ड ई २० करोड ४९ लाख, मेगा म्युचुअल फण्ड १ १३ करोड ८९ लाख, नबिल फ्याक्स क्याप फण्ड ८ कराृड ७४ लाख रुपैयाँ घाटामा रहेको छ ।

न्याभको अवस्था पनि छैन सन्तोषजनक

मंसिर महिनामा अधिकांश म्युचुअल फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) मा सुधार देखिए पनि सन्तोषजनक भने छैन । बजारमा सामान्य उतार–चढावका कारण फण्डहरुको न्याभमा सीमित अवस्थामा देखिएको हो ।

फण्डहरुले लगानी गरेका शेयर तथा बण्डको मूल्यमा दिगो वृद्धि हुन नसक्दा न्याभमा अपेक्षित सुधार आउन नसकेको देखिन्छ । केही फण्डमा लाभांश तथा ब्याज आम्दानीका कारण न्याभमा आंशिक सहयोग पुगे पनि सुधार भने हुन सकेको देखिन्न ।

विशेषगरी फण्डहरुको न्याभ वृद्धि मुख्यतः क्यापिटल गेनमा निर्भर देखिएको छ । कम मूल्यमा खरिद गरिएका शेयर मूल्य बढेपछि बिक्री गर्दा भएको नाफाले अस्थायी रूपमा न्याभ बढाए पनि बजार प्रतिकूल बनेमा यस्तो आम्दानी जोखिमपूर्ण हुने गरेको छ ।

समग्रमा, मंसिर महिनामा म्युचुअल फण्डहरुको प्रदर्शन औसत रहँदा लगानीकर्ताले अपेक्षा गरेअनुसारको प्रतिफल दिन नसकेको अवस्था देखिएको छ ।

२७ वटाको लाभांश १५ प्रतिशत तल, १२ वटाको छैन लाभांश

म्युचुअल फण्डमा लगानीकर्ताले उल्लेख्य लाभांशको आश गरेका हुन्छन् । धेरै ठाउँमा लगानी हुने हुँदा लाभांश अपेक्षा हुनु पनि स्वभाविक नै हो । तर, पछिल्लो समय म्युचुअल फण्डको लाभांशको अवस्था भने कमजोर देखिन्छ ।

सामान्यता १५ प्रतिशतभन्दा माथिको लाभांशलाई अहिलेको अवस्था ठिकै मानिन्छ । तर, पछिल्लो समय फण्डको लाभांश निरन्तर खुम्चिदै गएको देखिएको छ ।

गत आर्थिक वर्ष २०८१।०८२ मा २७ वटा फण्डको लाभांश १५ प्रतिशत भन्दा कम रहेको छ । १२ वटाको भने कुनै लाभांश नै छैन ।

यसअवधिमा सर्वाधिक लाभांश भने सानिमा लार्ज क्याप फण्डले दिएको छ । सो फण्डले लगानीकर्तालाई २१.०५ प्रतिशत लाभांश दिएको छ । साथै, लक्ष्मी उन्नती कोष, आरबिबि म्युचुअल फण्ड १, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ योजना २ र सिद्धार्थ इक्वटी फण्डले समान २०–२० प्रतिशत लाभांश दिएको देखिन्छ ।

गत आर्थिक वर्षको मुनाफाबाट सबैभन्दा कम मुक्तिनाथ म्युचुअल फण्ड १ ले ३.८ प्रतिशत, एनएमबि सरल बचत फण्ड ई ले ४.२७ प्रतिशत, गरिमा समृद्धि योजनाले ५.१ प्रतिशत लाभांश दिएको छ ।

कुनै समय सुरक्षित र दीर्घकालीन रूपमा उपयुक्त लगानीको विकल्पका रूपमा हेरिएको म्युचुअल फण्ड पछिल्लो समय भने लगानीकर्ताको आकर्षण गुमाउँदै गएको देखिन्छ। सेयर बजारमा प्रत्यक्ष लगानी गर्न समय र ज्ञान नपुगेका लगानीकर्ताका लागि सहज विकल्प मानिएको म्युचुअल फण्डबाट अपेक्षित प्रतिफल नआउँदा लगानीकर्ताको भरोसा कमजोर बन्दै गएको हो। विशेषगरी पछिल्ला केही वर्षदेखि अधिकांश म्युचुअल फण्डको नाफा निरन्तर ऋणात्मक रहँदै आएको छ भने न्याभ समेत घट्दो क्रममा रहेकाले लगानीकर्ता निराश भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*