राष्ट्रिय सहकारी महासंघको ३३ औं वार्षिक साधारण सभा सम्पन्न, विश्वास पुनःस्थापनामा जोड

२७ पुष २०८२, आईतवार १८:२६

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको ३३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईंले सहकारी अभियान देशको अर्थतन्त्रको बलियो खम्बा भएको उल्लेख गरेका छन् । उनले सहकारी क्षेत्रमा देखिएका चुनौती समाधान गर्दै अभियानलाई प्रभावकारी बनाउनु सरकार मात्र नभई सम्पूर्ण सरोकारवालाको साझा दायित्व भएको बताए ।

मन्त्री चौलागाईंले सहकारीलाई पारदर्शी, उत्तरदायी र विश्वासयोग्य बनाउँदै आर्थिक समृद्धिमा यसको भूमिकालाई अझ सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याए ।

साधारण सभामा सहकारी विभागका रजिष्ट्रार सुशील ढकालले सहकारी अभियानसँग हातेमालो गर्दै देखिएका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सहकारी क्षेत्रको नियमन हाल सबैभन्दा ठूलो चुनौती बनेको उल्लेख गर्दै नियमन प्रणालीमा एकरूपता र स्पष्टता ल्याउन जरुरी रहेकोमा जोड दिए । सहकारीप्रति जनविश्वास कायम राख्न प्रभावकारी अनुगमन र नीतिगत सुधार अपरिहार्य रहेको उनको भनाइ थियो ।

उद्घाटन कार्यक्रममा महासंघका सल्लाहकार केशव बडाल, दीपकप्रकाश बाँस्कोटा, खगराज अधिकारी, देवन्द्रराज कडेल, लिलामणि पौडेल, गणेश शाह र उषा झाले सहकारी अभियानलाई सशक्त रूपमा अघि बढाउन महासंघले खेल्नुपर्ने नेतृत्वदायी भूमिकाबारे धारणा राखे । उनीहरूले वर्तमान अवस्थामा सहकारी क्षेत्रमाथि बढ्दै गएको दबाब, विश्वासको संकट तथा नीतिगत अस्पष्टताबीच महासंघको सशक्त नेतृत्व अपरिहार्य रहेको औँल्याए ।

कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष रमेश पोखरेलले महासंघको प्रगति प्रतिवेदन प्रस्तुत गरे । उपाध्यक्ष खेम पाठकले स्वागत मन्तव्य राखे भने उपाध्यक्ष डीबी बस्नेतले महासंघको विनियम संशोधन प्रस्ताव पेश गरे । त्यस्तै, उपाध्यक्ष इन्दिरा पन्तले महासंघको भावी कार्यक्रम तथा बजेट प्रस्तुत गरिन् । महासंघका महाप्रबन्धकले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*