आयोजना प्रभावितले रिज लाइन इनर्जीको आईपीओ भर्ने अन्तिम दिन

२८ पुष २०८२, सोमबार ०८:१७

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले पुस १३ गतेदेखि आयोजना प्रभावितलाई निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज पुस २८ गते अन्तिम दिन रहेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २६ लाख ७ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट मंसिर २२ गते अनुमति पाएको थियो। अनुमति पाएसँगै कम्पनीले ११ लाख ८५ हजार कित्ता आईपीओ आयोजना प्रभावितका लागि निष्कासन गरेको हो।

आयोजना प्रभावितलाई छुट्याइएको आईपीओमा गोरखाको अजिरकोट गाउँपालिकाको सबै वडाहरू र लमजुङको दूधपोखरी गाउँपालिकाको वडा नम्बर १, २ र ३ र दोर्दी गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र अधिकतममा ५० हजार कित्ता माग गर्न सकिनेछ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाल लिमिटेडले ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ्ग दिएको छ। यसले समयमै वित्तीय दायित्व भुक्तानी गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ। कम्पनीको आईपीओ निष्कासन तथा बाँडफाँडको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।

आयोजना प्रभावितले कम्पनीको गोरखास्थित आयोजना कार्यालयका साथै प्रभु क्यापिटलको कमलादीस्थित कार्यालय तथा क्यापिटलले निर्माण गरेको अनलाइन लिंकबाट पनि आवेदन दिन सक्नेछन्। त्यसैगरी गोरखास्थित प्रभु बैंकको छेपेटार शाखा र पालुङटार शाखा मार्फत् पनि आवेदन दिन सकिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र सिआस्वा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन्। पहिलो चरणको आईपीओ बाँडफाँड भइसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*