नेपाल ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा राजेन्द्र विक्रम बानियाँ, यस्तो बन्यो टिम

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघको सत्रौँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशनबाट राजेन्द्र विक्रम बानियाँ अध्यक्षमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न महाधिवेशनमा बानियाँले ओमकृष्ण कार्कीलाई पराजित गर्दै आगामी तीन वर्षे कार्यकालका लागि महासंघको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेका हुन्।
निर्वाचन परिणामअनुसार बानियाँले १ सय १२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कार्की ७७ मतमा सीमित भए। महासंघको वरिष्ठ उपाध्यक्ष पदमा विष्णुप्रसाद न्यौपाने निर्विरोध निर्वाचित भएका छन्।
उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा किसान गुरुङ र विद्यापति उपाध्याय घिमिरे विजयी भएका छन्। गुरुङले १ सय ६४ मत र घिमिरेले १ सय ८ मत प्राप्त गरेका थिए। महासचिव पदमा बद्रीप्रसाद चौलागाईं निर्विरोध निर्वाचित भए भने उपमहासचिव पदमा मेघराज सिग्देल ९७ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी अर्जुनबहादुर सापकोटाले ८९ मत प्राप्त गरे।
सचिव पदमा उमेशचन्द्र मजगैयाँ र गंगाबहादुर खड्काले समान ९५–९५ मत प्राप्त गरेपछि दुवैले कार्यकाल आधा–आधा अवधि कार्यालय सञ्चालन गर्ने सहमति गरेका छन्। कोषाध्यक्ष पदमा रुमाखर गौतमले १ सय ३२ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी टिकाराम गौतमले ६० मत प्राप्त गरे। सह–कोषाध्यक्ष पदमा सुमन सापकोटा १ सय ७ मतसहित निर्वाचित भएका छन्।
महाधिवेशनले सातै प्रदेशका संयोजकसहित १६ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ। प्रदेश संयोजकमा कोशी प्रदेशबाट विनोद खड्का, मधेस प्रदेशबाट रामबहादुर दुवाडी, बागमती प्रदेशबाट सूर्यबहादुर श्रेष्ठ, गण्डकी प्रदेशबाट केदारनाथ घिमिरे, लुम्बिनी प्रदेशबाट यामप्रसाद पाण्डे, कर्णाली प्रदेशबाट चेतन थानी र सुदूरपश्चिम प्रदेशबाट मोहनसिंह साउत निर्विरोध निर्वाचित भएका छन्।












