अमेरिकामा रहेको नेपाल राष्ट्र बैंकको अर्बौं डलर जोखिममा

काठमाडौं । भेनेजुएला आक्रमणपछि इरानसँगको सम्भावित युद्धले अमेरिकी अर्थतन्त्र टाट पल्टिने खतरा बढेसँगै अमेरिकामा गरिएका वैदेशिक लगानी र रिजर्ब रकमहरु खोजिममा पर्ने देखिएको छ ।
ट्रम्प प्रशासनको उपद्रवका कारण त्यहाँ रिजर्ब रहेको रकम जोखिममा छ । नेपाल राष्ट्र बैंकले समेत अर्बौं रकम अमेरिकामा रिजर्ब छ । इरानसँगको सम्भावित युद्धले अमेरिकी अर्थतन्त्र टाट पल्टिने खतरा बढ्दै गएसँगै नेपाल राष्ट्र बैंकको अमेरिकास्थित रिजर्ब जोखिममा पर्ने देखिएको हो ।
राष्ट्र बैंकले कन्ट्री र करेन्सीवाईज विदेशमा रिजर्ब राख्ने गरेको राष्ट्र बैंकका सहायक प्रवक्ता सुमन न्यौपानेले बताए । गत आर्थिक वर्षको असार मसान्तसम्म अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति १९ अर्ब ५० करोड थियो । इरानमा हालै भएको हिंसात्मक आन्दोलनमा पाँच सय बढी मानिस मारिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्ताको लागि तयार नभए कडा कदम चाल्ने चेतावनी दिएका छन् । उनले इरानमाथि साइबर आक्रमणदेखि प्रत्यक्ष सैन्य कारबाहीसम्मका विकल्पबारे आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग छलफल गरिसकेका छन् ।

इरानले प्रतिशोध लिए यसअघि कहिल्यै नदेखिएको आक्रमण गर्ने चेतावनी उनले दिएसँगै युद्धको संकेत देखिएको बताइँदै छ । मध्यपूर्वमा समेत अमेरिकी सेनाले आफ्नो सहयोगीको सुरक्षाका लागि पूर्ण तयारी अवस्थामा रहेको जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले समेत अमेरिकी विदेशमन्त्रीसँग इरान मामिलामा छलफल गरेका छन् ।
ट्रम्प प्रशासनले लिएको अमेरिका फस्र्टको नीतिले अमेरिकामा लगानी गर्नेहरुलाई प्रोत्साहन गर्ने भए पनि सम्भावित युद्धपछिको अवस्था के हुने भन्नेबारे अड्कल गर्नै नसकिने अवस्था रहेको वाणिज्य कानूनका जानकार डा. रुद्र शर्माले बीमापोष्टलाई बताए । उनले भने, ‘ट्रम्प प्रशासनको निर्णय गर्ने प्याटर्न नै अरुले अहिलेसम्म भेउ पाउन नसक्दा भविष्यमा के निर्णय हुन्छ ? के अवस्था आउँछ भन्ने नै आँकलन गर्न सकिँदैन ।’
ट्रम्प प्रशासनले आफुलाई सहयोग नगर्ने राष्ट्र र इन्ट्रेस्ट बाझिएका लगानीहरुको सुरक्षा नगर्न सक्छ, उनले भने, ‘अमेरिका फस्र्टको नीतिले अमेरिकामा गरिने लगानीलाई प्रोत्साहन नै गर्छ । तर, आफुले भने अनुसार नचल्ने राष्ट्र र लगानीकर्ताको जोखिम बहन उसले नगर्न सक्छ । सम्भावित युद्धले अकल्पनीय जोखिजम निम्तिन सक्छ ।’












