टेलिकमकै संग्लनतामा शंकास्पद एसएमएसको खेती, दोषी को ?

काठमाडौँ । पछिल्लो केही दिन यता एटी अलर्ट र एसआई अलर्टमार्फत सर्वसाधारणको मोबाइलमा पुष ३० गते आयोजना हुने राजावादी प्रदर्शनको आह्वान गर्ने एसएमएसहरु छ्यापछ्यापी आइरहेका छन् । मोबाइल नेटवर्कमा व्यापक रूपमा फैलिएका यी सन्देशहरूले सर्वसाधारणमा आक्रोश र चासो सिर्जना गरेका छ ।
गेटवेमार्फत पठाइएका लाखौँ एसएमएसका मुख्य विषय प्रदेश खारेज, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको माग र सनातनी महान अधिराज्य नेपाल बनाउने जस्ता राजनीतिक मागहरू समेटिएका छन् । जसका लागि पुष ३० गते दिउँसो १२ बजे बालुवाटारमा उपस्थित हुन आह्वान गर्दै पठाइएका एसएमएसहरुमा प्रायः ‘निर्देश सेढाई’को नाम उल्लेख गरिएको छ भने ह्वाट्सएप नम्बर पनि सामेल गरिएको पाइन्छ । अधिकांश प्रयोगकर्ताले आफूलाई यो सन्देश कसरी प्राप्त भयो भन्ने कुरा बुझ्न चाहेका छन् ।
दैनिक जस्तो सर्वसाधारणका मोबाइलमा आउने मेसेज पठाउन एसएमएस गेटवे आकाश एसएमएस र एसआई अलर्टको प्रयोग भएको देखिन्छ । यी प्रदायकले सञ्चालन गर्ने एटी अलर्ट र एसआई अलर्टमार्फत प्रदर्शनमा सहभागी हुन आह्वान भइरहेको हो ।
यद्यपि, काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रवक्ता मुक्तिराम रिजालले भने कुनै पनि समूह आन्दोलनको अनुमतिका लागि नआएको बताएछन् । उनले भने, ‘अहिलेसम्म कुनै समूह पुष ३० गतेको सभा तथा आन्दोलनका लागि आएको छैन । एसएमएसमा बालुवाटारमा भनेर आइरहेको कुरा सुन्नमा आएको छ । सो क्षेत्र निषेधित क्षेत्र भएका कारणले कोही आयो भने पनि त्यहाँ आन्दोलनको अनुमति दिने कुरा हुँदैन ।’
टेलिकमको कार्य प्रवृत्तिमा गम्भीर शङ्का
सर्वसाधारणलाई नै हैरानी बनाउने गरी आइरहेको एसएमएसले नेपाल टेलिकममाथि नै गम्भीर प्रश्न उब्जिएको छ । टेलिकमकै संग्लनतामा सेवा प्रदायकहरुले यस्ता एमएमएस सर्वसाधारणका मोबाइल सेटसम्म पुराउने काम भएको पाइएको छ । ग्राहकहरूले आफ्नो गोपनीयता उल्लङ्घन भएको भन्दै आक्रोश व्यक्त भइरहेका छन् ।
सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले व्यक्तिगत मोबाइल नम्बर यसरी कसरी सङ्कलन भयो ? कुन व्यक्ति, संस्था वा प्रणालीमार्फत हाम्रो नम्बर तेस्रो पक्षसम्म पुगेको हो ? सहमति बिना सामूहिक सन्देश पठाउने अधिकार कसलाई छ ? भन्ने प्रश्न उठाउन थालेका छन् ।
नेपालको संविधान र प्रचलित कानुनले नागरिकको व्यक्तिगत डाटा तथा गोपनीयताको संरक्षणको स्पष्ट व्यवस्था गरेको छ । डाटा सुरक्षा ऐन अनुसार प्रयोगकर्ताको सहमति बिना व्यक्तिगत जानकारी सङ्कलन वा प्रचार–प्रसार गर्नु गैर कानुनी मानिन्छ । यसैले, यस किसिमको सन्देशले केवल नागरिकको व्यक्तिगत गोपनीयता उल्लङ्घन मात्र नभई राज्यको नियामक निकाय र सेवा प्रदायकमाथि पनि प्रश्न उठाइरहेको छ ।
सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले आफ्नो व्यक्तिगत मोबाइल नम्बर सुरक्षित नभएको भन्दै आलोचना गरेका छन् । कतिपयले नेपाल टेलिकमको नियमन र डाटा संरक्षण प्रणाली कमजोर भएको बताएका छन् ।
यता, टेलिकमले भने एक सूचना जारी गर्दै आफ्नो बचाउ गरेको छ । भ्यालु एडेड सर्भिसेज सेवा प्रणालीमा आबद्ध भई एसएमएसमा आधारित सेवा प्रवाह गरिरहेका केही सेवा प्रदायकले आफ्नो व्यापारिक उद्देश्यभन्दा फरक राजनीतिक प्रकृतिका सन्देश विभिन्न मोबाइल नम्बरमा पठाइरहेकोमा ध्यानाकर्षण भएको सूचना प्रकाशित गरेको हो ।
अधिकारकर्मी भन्छन् ‘टेलिकमले ठुलो अपराध गरिरहेको छ’
यसरी सर्वसाधारणलाई नै हैरानी बनाउने गरी सेवा प्रदायकहरुबाट टेलिकमले नै गरी रहेको शंकास्पद गम्भीर अपराध रहेको जानकारहरू बत्ताउँछन् । व्यक्तिको अनुमति बिना नै एसएमएस पठाउन सेवा प्रदायकलाई अनुमति दिनु टेलिकमको गम्भीर अपराध रहेको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारी बताउँछन् । उनले भने, ‘व्यक्तिको सहमति बिना नै एसएमएस पठाउने कार्य गलत हो । कुनै व्यवसायी कम्पनीले आफ्नो ग्राहकलाई केही सन्देश र शुभकामना खुसी भएर पठाउन सक्छ । कुनै विद्यालयले आफ्नो विद्यार्थीलाई भर्ना सम्बन्धी तथा कार्यक्रम सम्बन्धी सूचना पठाउन सक्छ । जुन उसका लाभान्वित व्यक्तिले खुसीले ग्रहण समेत गर्दछ । तर, कुनै ग्राहकलाई रुचि नै नभएको एसएमएस पठाउनु कानुनै रूपमा नै अपराधको विषय हो ।’
अधिकारीले यस्ता एसएमएसले आम ग्राहकलाई नै हैरानी बनाइरहेको बताउँदै टेलिकमले यस विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताए ।
यता, उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव तथा अधिवक्ता विष्णु तिमल्सीनाले टेलिकमले गरी रहेका यस्ता आपराधिक कार्य रोक्न कानुनै बन्नु पर्ने बताउँछन् । उनले भने, ‘आज मात्रै होइन नेपाल टेलिकमले बेला बेला सर्वसाधारणलाई जथाभाबी एसएमएस पठाउने कार्य गर्दै आइरहेको छ । ग्राहकलाई मन नै नपर्ने कुरा एसएमएसमा जबरजस्ती तरिकाले पठाउनु आपराधिक कार्य हो । यसलाई रोक्न कानुन नै बन्नु पर्ने जरुरी छ ।’
कुनै व्यक्ति वा संस्थाले आफ्ना लाभान्वित व्यक्तिलाई यसरी एसएमएस पठाउनु स्वाभाविक मानिएपछि जथाभाबी रूपमा व्यक्तिलाई नै असर पर्ने गरी पठाइने एसएमएस गैर कानुनी रहेको तिमल्सीनाको भनाइ रहेको छ । ‘अनुमति नै नदिई कुनै व्यक्तिको व्यक्तिगत मोबाइलमा अनैतिक तरिकाले एसएमएस गर्नु दण्डनीय कार्य हो । अर्का व्यक्तिलाई अनुचित तरिकाले मेसेज पठाउने कार्य बन्द हुनुपर्छ’ उनले भने ।












