सिप्रदीद्वारा टाटा गुरु सुभाष शर्माको उपचारमा आर्थिक सहयोग

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी अटो पार्ट्स प्रालिमा लामो समयदेखि कार्यरत ‘टाटा गुरु’ का रूपमा परिचित सुभाष शर्मा गम्भीर स्नायु (न्युरोलोजिकल) समस्याबाट पीडित भई काठमाडौंको अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलाइड साइन्सेसमा उपचार गराइरहेका छन्।
ललितपुरको सानेपा निवासी शर्मा अटोमोबाइल क्षेत्रमा आफ्नो दक्षता, सीप र अनुभवमार्फत उल्लेखनीय योगदान पुर्याउँदै आएका अनुभवी प्राविधिक हुन्। चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था जटिल रहेकाले लामो समयसम्म निरन्तर उपचार आवश्यक पर्ने देखिएको छ। यसका कारण उपचार खर्च व्यवस्थापन गर्न परिवारलाई आर्थिक दबाब बढ्दै गएको बताइएको छ।
यस परिस्थितिलाई ध्यानमा राख्दै सिप्रदी अटो पार्ट्सले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम ‘सिप्रदी सहायता’ अन्तर्गत शर्माको उपचारका लागि प्रारम्भिक आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीको यस कदमले कर्मचारीप्रति देखाएको उत्तरदायित्व र मानवीय संवेदनालाई प्रतिबिम्बित गरेको छ।
शर्माको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सिप्रदी अटो पार्ट्सले यस कठिन समयमा विभिन्न संघ–संस्था, सरोकारवाला निकाय तथा सहयोगी मनहरूलाई मानवीय भावनाका आधारमा आवश्यक सहयोग गर्न पनि आग्रह गरेको छ।












