पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आईपीओ भर्ने आज अन्तिम दिन

३० पुष २०८२, बुधबार ०९:४१

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले पुस २५ गतेदेखि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि जारी गरिरहेको आईपीओमध्ये वैदेशिक रोजगारेका लागि खुला गरिएको आईपीओ भर्ने आज पुस ३० गते अन्तिम दिन रहेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट पुस ९ गते अनुमति पाएको थियो। अनुमति पाएसँगै कम्पनीले प्रथम चरणमा आयोजना प्रभावितका लागि १८ लाख ७५ हजार कित्ता र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि ५ लाख ६२ हजार ५०० कित्ता आईपीओ जारी गरेको हो।

आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको आईपीओमा पस ३० गतेसम्म आवेदन दिन सकिनेछ। यसमा निष्काशन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडले ‘डबल बी प्लस इस्यूअर’ रेटिङ्ग दिएको छ। यसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।

आयोजना प्रभावितले नबिल बैंकको तानसेन, बर्दघाट, बुलिबटार र गैंडाकोट शाखा, प्रभु बैंकको पाल्पा, बर्दघाट, परासी र बेलातारी शाखा र सिद्धार्थ बैंकको पाल्पा, बर्दघाट र परासी शाखा कार्यालयमा आवेदन फाराम पाउन र बुझाउन सक्नेछन् भने वैदेशिक रोजगारेले सेबोनबाट अनुमति पाई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*