शुरू हुँदै राष्ट्रिय फुटबलको महाकुम्भ, विजेताले ५० लाख पाउने

काठमाडौं । राष्ट्रिय फुटबलको महाकुम्भ ‘राष्ट्रिय फुटबल लिग’ आजदेखि शुरू हुँदैछ । १७ टिमले उपाधिका लागि भिडन्त गर्ने लिगको उदघाटन खेलमा काँक्रेविहार र फ्रेन्ड्स क्लब भिड्दै छन् ।
काठमाडौं र ललितपुरका तीन ओटा मैदान (दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदान) मा कूल १३६ खेल हुने आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
यो पल्ट लिगको विजेताले ५० लाख, उपविजेताले २५ लाख र तेस्रो हुने टोलीले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । अनुशासित (फेयर प्ले) टिमलाई १ लाख रुपैयाँ प्रदान गरिने बताइएको छ ।
हरेक खेल जितेबापत २० हजार रुपैयाँ दिइने एन्फाले जनाएको छ । राष्ट्रिय लिग च्याम्पियनले एएफसी क्लब च्याम्पियनशिप खेल्ने पाउनेछ । हरेक टोलीले कम्तीमा २३ र बढीमा ४० खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ ।
लिगमा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब, न्यूरोड टिम (एनआरटी), लालिगुराँस युवा क्लब, चित्लाङ एफसी, नव जनजागृति क्लब, काँक्रेविहार स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङ्दी क्लब, संकटा क्लब, फ्रेन्ड्स क्लब, एपीएफ क्लब, प्लानिङ ब्वाइज क्लब र श्री भगवती क्लब गरी १७ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
शीर्ष डिभिजन लिगको सट्टामा आयोजना गरिएको राष्ट्रिय लिगमा सहभागी अधिकांश क्लबले छोटो समयको तयारी र समयमै खेलाडी उपलब्धबिना नै प्रतियोगिता खेल्दैछन् ।
नेपाली फुटबल विकासको मेरुदण्डको रूपमा रहेको शीर्ष ‘ए’ डिभिजन लिग पछिल्लो साढे दुई वर्षदेखि हुन सकेको छैन । सोही शीर्ष डिभिजन लिगको सट्टा एन्फाले राष्ट्रिय लिग आयोजना गरेको हो ।












