माघमा अधिकांश बैंकले ब्याजदर घटाउँदा प्राइमले भने बढायो, कुनको कति ?

३० पुष २०८२, बुधबार ११:१७

काठमाडौँ । पछिल्ला महिनाहरूमा वाणिज्य बैंकहरूको ब्याजदर निरन्तर ओरालो लाग्दै गएको छ। तरलताको चाप बढी भइरहेको, कर्जाको माग अपेक्षाकृत कमजोर हुनु र बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिँदै जानुका कारण बैंकहरू एकपछि अर्को गर्दै निक्षेपमा दिइने ब्याजदर घटाउन बाध्य भएका हुन्।

यही क्रमलाई निरन्तरता दिँदै माघ महिनाका लागि पनि अधिकांश वाणिज्य बैंकहरूले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूको तथ्यांक हेर्दा माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा दिइने अधिकतम औषत ब्याजदर झरेको देखिन्छ। अघिल्लो महिनाको तुलनामा औषत ब्याजदर करिब साढे ४ प्रतिशत हाराहारीमा सीमित भएको छ। यो पुस महिनामा कायम रहेको दरभन्दा स्पष्ट रूपमा कम हो।

पछिल्ला केही महिनायता बैंकिङ प्रणालीमा तरलता प्रशस्त रहे पनि निक्षेपकर्तालाई आकर्षित गर्नुपर्ने दबाब नदेखिएकाले बैंकहरूले ब्याजदर घटाउँदै आएका छन्।

माघ महिनाका लागि २० मध्ये ११ बैंकले अघिल्लो महिनाको तुलनामा ब्याजदर घटाएका छन्। केही बैंकहरूले तुलनात्मक रूपमा आक्रामक कटौती गरेका छन् भने केहीले सानो मात्रामा ब्याजदर समायोजन गरेका छन्।

सबैभन्दा धेरै ब्याजदर घटाउने बैंकहरूको सूचीमा हिमालयन बैंक र माछापुच्छ्रे बैंक अग्रस्थानमा देखिएका छन्।

माघ महिनाका लागि मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाउने बैंकहरु सिद्धार्थ बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स  बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक समेत रहेका छन् ।

प्राइम कमर्सियल बैंकले माघ महिनाका लागि ब्याजदर बढाएको छ। समग्र बैंकिङ प्रणाली ब्याजदर घटाउने दिशामा अघि बढिरहेका बेला प्राइम बैंकको बजारको सामान्य प्रवृत्तिभन्दा अलग देखिन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*