कर्मचारी र गार्डको सेटिङमा पोखरा वितरण केन्द्रको १४ लाख पर्ने तामाको तार गायब

३० पुष २०८२, बुधबार १३:०८

काठमाडौं । नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रको ९२० मिटर तामाको तार कर्मचारी र गार्ड समेतको सेटिङमा गायब पारी १४ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ।

नेविप्रा पोखरा वितरण केन्द्र अन्तर्गत कोत्रे पोल प्लान्टको स्टोरमा रहेको ९०० मिटर तामाको तार बेचेर खाएको भन्दै अख्तियारमा उजुरी परेपछि अनुसन्धान शुरू भएको थियो। अनुसन्धानका क्रममा ७० वर्ग मिलिमिटर क्षमताको १७४ मिटर र १२० वर्ग मिलिमिटर क्षमताको ७४६ मिटर तामाको तार गायब पारिएको खुलेको हो।

स्टोर प्रमुखले वि.सं. २०८० साल वैशाख ५ गते उक्त सामग्री मौज्दातमा नदेखिएको भन्दै कार्यालय प्रमुखसमक्ष निवेदन दिएका थिए। त्यसपछि पोखरा वितरण केन्द्रले मिति २०८० वैशाख १० गते छानबिन समिति गठन गरेको थियो। स्टोर अभिलेखअनुसार ती तारहरू वि.सं. २०७७ असोज ३० गते जिन्सी आम्दानीमा दाखिला भएका थिए। स्टक विवरण हेर्दा २०७९ साल माघदेखि वैशाखसम्म तार स्टोरमै मौज्दात रहेको देखिए पनि वि.सं. २०८० वैशाख ५ गते स्टोरमा फेला नपरेको उल्लेख छ। आ.व. २०८०/०८१ को जिन्सी निरीक्षण प्रतिवेदनमा पनि ती सामग्री नभेटिएको जनाइएको छ।

छानबिन समितिको प्रतिवेदन अनुसार वि.सं. २०७९ मंसिर २१ गते गेटपासमार्फत २८ मिटर तार ठेकेदारले लगे पनि पछि मौखिक निर्देशनमा स्टोर फिर्ता गरिएको भनिए तापनि उक्त फिर्ता गरिएको तारसमेत स्टोरमा फेला परेको थिएन। हराएको तारको परिमाण धेरै भएकाले कम्पाउन्ड बाहिर लैजान मेसिन तथा उपकरण प्रयोग गरिएको र यो कार्य योजनाबद्ध रूपमा भएको निष्कर्ष समितिले निकालेको छ।

छानबिनले ७० वर्ग मिलिमिटरको तारको मूल्य २ लाख ६७१ रुपैयाँ र १२० वर्ग मिलिमिटरको तारको मूल्य ११ लाख ९३ हजार ६०३ रुपैयाँ गरी जम्मा १३ लाख ९३ हजार रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हिनामिना भएको ठहर गरेको छ। उक्त निष्कर्षलाई समर्थन गर्दै नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय र गण्डकी प्रादेशिक कार्यालयको छानबिन समितिले बिगो असुल गर्न सिफारिस गरेको देखिन्छ।

आरोपपत्रमा तत्कालीन केन्द्र प्रमुख, स्टोर प्रमुख (सहायक लेखा अधिकृत) तथा ड्युटीमा रहेका सुरक्षा गार्डहरू आपसी मिलेमतोमा संलग्न भई सरकारी सम्पत्ति हिनामिना गरिएको देखिएको छ। ड्युटीमा रहेका सुरक्षाकर्मीको संलग्नतामा कम्पाउन्डबाट तार बाहिर लैजान सहयोग गरिएको निष्कर्ष पनि प्रतिवेदनमा उल्लेख छ।

यसरी मिलेमतोमा नेपाल विद्युत प्राधिकरणको सार्वजनिक सम्पत्तिमा ठूलो हानिनोक्सानी पुर्‍याएको भन्दै तत्कालीन केन्द्र प्रमुख राजीव कुमार सिंह, स्टोर प्रमुख लोकप्रसाद काफ्ले तथा सुरक्षा गार्डहरू राम कुमार पुर्जा र हेम शर्मा रिमालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा अख्तियारले मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*