आज माघे संक्रान्ति पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । आज देशभर माघे संक्रान्ति पर्व श्रद्धा, आस्था र उत्साहका साथ मनाइँदैछ। प्रत्येक वर्ष माघ महिनाको पहिलो दिन मनाइने यो पर्व सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनका रूपमा चिनिन्छ।
माघे संक्रान्तिका अवसरमा स्नान, दान, पूजा तथा परिवारसँग बसेर विशेष परिकार खाने परम्परा रहेको छ। विशेषगरी तरुल, सखरखण्ड, चाकु, तिलको लड्डु, घिउ खाने चलन छ। यो पर्वले स्वास्थ्य, समृद्धि र शुभ समयको सुरुवात हुने विश्वास रहीआएको छ।
सरकारले माघे संक्रान्तिको अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ। आज सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, नेप्से लगायत अधिकांश कार्यालयहरू आज बन्द रहेका छन्।
माघे संक्रान्ति विशेषगरी थारू समुदायको प्रमुख पर्वका रूपमा समेत मनाइने गरिन्छ। थारू समुदायले यसलाई नयाँ वर्षको शुरुवातका रूपमा लिने परम्परा छ। देशका विभिन्न स्थानका धार्मिक स्थलहरू तथा नदी, कुण्ड र तीर्थस्थलमा स्नान गर्नेहरूको उल्लेख्य उपस्थिति रहेको छ।












