बलरा नगरपालिकामा तालिमकै नाममा भ्रष्टाचार, मेयरसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

३० पुष २०८२, बुधबार १६:४८

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बलरा नगरपालिकाका नगर प्रमुख (मेयर) रामशंकर प्रसाद कुशवाहा सहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आर्थिक वर्ष २०८०/८१ मा नगरपालिकाले सञ्चालन गरेको ‘किशोरीहरूको लागि खेलौना बनाउने तालिम’ कार्यक्रममा फर्जी कागजात तयार गरी सरकारी रकम हिनामिना गरिएको अभियोगमा आयोगले सोमबार मुद्दा दायर गरेको हो।

आयोगका अनुसार ३० दिनसम्म सञ्चालन गर्ने भनिएको तालिम जम्मा ५ दिन मात्र चलाएर सम्पन्न गरिएको पाइएको छ। तालिम पूरा नगरी झुट्टा बिल भर्पाइ, नक्कली प्रतिवेदन र सहभागीहरूको कीर्ते हस्ताक्षर तयार गरी ३ लाख ८२ हजार ५३ रुपैयाँ भुक्तानी दिइएको अनुसन्धानबाट खुलेको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणबाट सहभागीहरूको हस्ताक्षरसमेत नक्कली भएको पुष्टि भएको आयोगले जनाएको छ।

मुद्दा दायर गरिएकामध्ये मेयर कुशवाहासहित वडाध्यक्ष मनोज मोहनकुमार सिंह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुशील कुमार साह, योजना शाखा प्रमुख उदयकुमार साह र सहायक लेखापाल राजकुमार महतो रहेका छन्। त्यस्तै, तालिम सञ्चालन गर्ने संस्था शान्ति विकास कल्याण केन्द्रका अध्यक्ष सविन्द्र नारायण साह, सदस्य उमेशकुमार पासवान र जाजुल मिया कवारीलाई पनि विपक्षी बनाइएको छ।

आयोगले उनीहरूमाथि ३ लाख ८२ हजार ५३ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कैद तथा बिगो बराबरको जरिवाना सजायको माग दाबी गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*