आर्थिक गणनाका लागि ४ हजार ४३९ कर्मचारी माग, मासिक ३४ हजारभन्दा बढी तलब

१ माघ २०८२, बिहीबार ११:२५

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ सफलतापूर्वक सम्पन्न गर्नका लागि ठूलो संख्यामा करार कर्मचारी माग गरेको छ। कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै देशभर सञ्चालन हुने आर्थिक गणनाको स्थलगत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षण कार्यका लागि कुल ४ हजार ४ सय ३९ जना कर्मचारी भर्ना गर्न लागेको जनाएको हो।

सूचनाअनुसार ५ सय २६ जना सुपरिवेक्षक र ३ हजार ९ सय १३ जना गणक गरी दुई पदका लागि दरखास्त आह्वान गरिएको छ। सुपरिवेक्षक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने गणक पदका लागि १०+२ वा प्रमाणपत्र तह उत्तीर्ण गरेका नेपाली नागरिकले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

साढे दुई महिनाको छोटो अवधिका लागि भए पनि कार्यालयले आकर्षक पारिश्रमिकको व्यवस्था गरेको छ। सुपरिवेक्षकले मासिक ३४ हजार ७३० रुपैयाँ र गणकले मासिक ३२ हजार ९०२ रुपैयाँ तलब पाउने सूचनामा उल्लेख छ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र अनलाइन माध्यमबाट दरखास्त पेस गर्नुपर्नेछ। आवेदन राष्ट्रिय तथ्याङ्क कार्यालयको आधिकारिक वेबसाइटमार्फत भर्न सकिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*