लघुवित्तका ग्राहक संरक्षण कोषको दायरा फराकिलो, संकटमा परेका ऋणीको पुनःस्थापनासम्म खर्च गर्न पाउने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थासम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै ग्राहक संरक्षण कोषको प्रयोग दायरा फराकिलो बनाएको छ। संशोधित व्यवस्थापछि अब उक्त कोषको रकम केवल ऋणीको हकहितमा सीमित नरही ग्राहकको समग्र हित, संकटमा परेका ऋणीको संरक्षण तथा पुनःस्थापनामा समेत खर्च गर्न सकिने भएको छ।
यसअघि ग्राहक संरक्षण कोषबाट ऋणीसँग प्रत्यक्ष सम्बन्धित सीमित कार्यक्रममै खर्च गर्न पाइने व्यवस्था थियो। तर राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनले कोषको उपयोगलाई अझ उद्देश्यपूर्ण, सामाजिक उत्तरदायित्वमुखी र प्रभावकारी बनाएको छ। संशोधनअनुसार कोषमा संकलित रकम ग्राहक सदस्यहरूको सामूहिक हितका कार्यक्रम, समस्यामा परेका ऋणीको व्यवसाय जोगाउने तथा पुनःस्थापना गर्ने कार्य, दैवी प्रकोप वा दुर्घटनाबाट प्रभावित ग्राहक तथा उनका परिवारलाई सहयोग गर्न प्रयोग गर्न सकिनेछ।
त्यसैगरी ग्राहक र उनका सन्तानको शिक्षा, स्वास्थ्य, पोषण तथा क्षमता विकाससँग सम्बन्धित कार्यक्रमहरूमा मात्र उक्त कोष खर्च गर्नुपर्ने स्पष्ट व्यवस्था गरिएको छ।
नयाँ निर्देशनले खर्च व्यवस्थामा पनि कडाइ गरेको छ। लघुवित्त वित्तीय संस्थाले अघिल्लो आर्थिक वर्षको नाफाबाट ग्राहक संरक्षण कोषमा जम्मा भएको रकममध्ये कम्तीमा ५० प्रतिशत रकम पछिल्लो आर्थिक वर्षभित्रै खर्च गर्नुपर्ने प्रावधान गरिएको छ। साथै, खर्चको विवरण र उपयोगको अवस्था संस्थाको वार्षिक प्रतिवेदनमा अनिवार्य रूपमा खुलाउनुपर्नेछ।
MFI-Circular-5-U











