कांग्रेस आधिकारिकतामा टकराव, निर्वाचन आयोग बाहिर देउवा–थापा समर्थक आमनेसामने

२ माघ २०८२, शुक्रबार १७:०६

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादलाई लिएर निर्वाचन आयोग परिसर बाहिर तनावपूर्ण अवस्था सिर्जना भएको छ। पार्टीभित्रको नेतृत्व विवाद चुलिँदै जाँदा दुवै पक्षका नेता तथा कार्यकर्ताले आयोगको मुख्य गेटअगाडि प्रदर्शन थालेका छन्।

गगनकुमार थापा नेतृत्वको समूह र सभापति शेरबहादुर देउवा पक्षले आ–आफ्नो दाबी पेश गर्दै निर्वाचन आयोगमा आधिकारिकताको मागसहित निवेदन दिएका छन्। आयोगले निर्णय सार्वजनिक गर्नुअघि नै दुवै समूह सडकमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो।

गत पुस २७ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको दाबी थापा पक्षको छ। त्यसलाई अमान्य ठहर गर्दै देउवा समूहले उक्त भेलालाई मान्यता नदिने अडान लिँदै आएको छ।

प्रदर्शनका क्रममा देउवा पक्षका कार्यकर्ताले शेरबहादुर देउवाको समर्थनमा नारा लगाउँदै विशेष महाधिवेशन अस्वीकार्य भएको अभिव्यक्ति दिएका छन्। उता थापा पक्षले पार्टी कार्यालय सानेपा खाली गर्नुपर्ने मागसहित नेतृत्व परिवर्तनको सन्देश दिने नारा लगाएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*