स्वास्थ्य बीमा संकटमा परेका बेला बोर्डका निर्देशक काफ्लेले दिए राजीनामा

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिएका छन् । पछिल्लो समय देशभरीका कैयौं अस्पतालमा दावी भुक्तानी उपलब्ध गराउँन नसक्दा संकटमा परेका बेला उनले राजिनामा दिएका हुन् ।
उनले स्वास्थ्य मन्त्रालयमार्फत् प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् । तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पालामा तनहुँका काफ्ले स्वास्थ्य बीमा बोर्डमा नियुक्त भएका थिए । स्वास्थ्य बीमा भुक्तानीको दायित्व बढेर बोर्ड दबाबमा परेका बेला काफ्लेको राजीनामा आएको हो ।
स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थालाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी छ । तर अर्थ मन्त्रालयले यही मोडलमा बीमा कार्यक्रम चल्ने हो भने थप अनुदान दिन नसक्ने स्पष्ट पारेको छ ।
जेन–जी सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकता नदिदाँ स्वास्थ्य बीमाको भविष्य नै संकटमा परेको छ । देशभरी लाखौं ग्राहक आवद्ध रहेको स्वास्थ्य बीमा कार्यक्रमले आम जनताहरुले सहज रुपमा स्वास्थ्य सेवा पाइरहेका थिए ।
जनतालाई निकै सस्तो मूल्यमा सहज सेवा उपलब्ध गराउँने र देशभरीका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँने उद्देश्यले तत्कालिन सरकारले यस कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको थियो ।












