पुँजी बजारमा उत्साहः फाइनान्स र विकास बैंकमा देखियो बुल, यसरी आउँदैछ रौनक!

काठमाडौँ । पछिल्ला केही दिनयता शेयर बजारमा निरन्तर हरियाली देखिएको छ । सूचकसँगै कारोबार रकममा समेत सुधार आउँदा बजारमा उत्साहको वातावरण बनेको छ । लामो समयको उतार–चढावपछि बजारमा देखिएको सकारात्मक संकेतले लगानीकर्ताको मनोबल बलियो बन्दै गएको देखिन्छ । विश्लेषकहरूका अनुसार बजारमा देखिएको हरियाली केवल प्राविधिक सुधार मात्र नभई समग्र वातावरण सकारात्मक बन्दै गएको संकेत हो ।
शेयर बजारका लागि आवश्यक अधिकांश नीति तथा सूचकहरू अनुकूल दिशामा रहेका छन् । बजारको प्रमुख ‘शत्रु’ मानिने बैंक ब्याजदर निरन्तर ओरालो लागिरहेको छ, जसको प्रत्यक्ष प्रभाव शेयर धितो कर्जामा देखिएको छ । ब्याजदर घटेसँगै शेयर धितो कर्जा लिनेहरूको संख्या बढ्दै गएको छ भने त्यसले बजारमा लगानीयोग्य रकमको प्रवाह बढाएको छ । यही कारण बजारमा सकारात्मक माहोल बन्दै गएको विश्लेषकहरूको निष्कर्ष छ ।
देशको राजनीतिक परिस्थितिले पनि बजारलाई सहज बनाएको उनीहरूको भनाइ छ । हाल जेनजी आन्दोलनपछि निर्वाचन प्रक्रियातर्फको गति बढ्दै गएको र नयाँ नेतृत्व चयनको सम्भावनाले लगानीकर्तामा उत्साह थपिएको छ । राजनीतिक अनिश्चितता केही हदसम्म कम हुँदै गएको संकेतले बजारमा सक्रिय लगानीकर्ताको संख्या करिब ६२ हजार पुगेको देखिन्छ, जसले बजारमा सहभागिता र विश्वास दुवै बढेको संकेत गर्छ ।
नियामक निकायहरूको सक्रियताले पनि बजार सुधारमा महत्त्वपूर्ण भूमिका खेलेको छ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन र प्रवाह बढाउने पहल अघि सारेको छ भने अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डले लगानीकर्ता–मैत्री नीतिहरू कार्यान्वयन गर्दै आएका छन् । विश्लेषकहरूका अनुसार निर्वाचन प्रक्रियाले अल्पकालीन रूपमा केही प्रभाव पार्न सक्ने भए पनि दीर्घकालीन रूपमा राजनीतिक स्थायित्व र स्पष्ट नीतिगत दिशाले शेयर बजारलाई अझ सकारात्मक दिशामा अघि बढाउने विश्वास कायमै रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.१२ अकंले बढेर २६७२.५५ बिन्दुमा कायम भएको छ । आज ३३८ कम्पनीको १ करोड ६६ लाख ११ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४० करोड २७ लाख ९७ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।
यसदिन फाइनान्स र विकास बैंकमा बुल देखिएको छ । आज फाइनान्स समूहको शेयर मूल्य ५.७३ प्रतिशतले बढेको छ भने विकास बैंकको ३.०३ प्रतिशतले बढेको हो । आज १३ वटै उपसूचकमा हरियाली देखिएको छ ।
आइतबार २२४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको घटेको छ । ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज सागर डिष्टिलरी, उन्नती सहकार्य, श्रीनगर र गोर्खाज फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।













