८ लाख २० हजारले पाउने सोलु हाइड्रोपावरको आईपीओमा कतिले दिए आवेदन ?

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओमा २५ लाख ७० हजार ४२२ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आइतबार अन्तिम दिनसम्ममा ३ करोड १७ लाख ८ हजार ३९० कित्ताका लागि ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँका लागि आवेदन परेको हो । जुन मागभन्दा ३.८६ गुणाले बढी हो ।
आईपीओमा ८ लाख २० हजारले १०।१० कित्ताका दरले शेयर हात पार्नेछन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ करोड कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा आयोजना प्रभावितलाई १ करोड कित्ता र वैदेशिक रोजगारीमा रहेकालाई १० लाख कित्ता निष्कासन गरी बाँडफाँड समेत हो ।
कम्पनीले अब बाँकी ९० लाख कित्तामध्ये ५ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ८२ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गरेको थियो ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई ‘आइआरएन डबल बी इस्यूअर रेटिङ्ग’ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड रहेका छन्।












