पुँजी बजारको विकास र विस्तारका लागि एमालेसँग लगानीकर्ताको संवाद, ओली-अग्रवाल एउटै मञ्चमा

५ माघ २०८२, सोमबार १६:००

काठमाडौँ । शेयर बजारको विकास, विस्तार र भविष्यको दिशाबारे शेयर लगानीकर्ताले नेकपा एमालेसँग छलफल गर्ने भएका छन् । चर्चित शेयर लगानीकर्ता दिपेन्द्र अग्रवाल र पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संयुक्त उपस्थितिमा माघ १० गते एमाले पार्टी कार्यालयमा उक्त कार्यक्रम आयोजना हुन लागेको हो ।

कार्यक्रममा शेयर बजारको आगामी यात्रा, नीतिगत स्थिरता, राजनीतिक नेतृत्वको दृष्टिकोण र पूँजी बजारलाई अर्थतन्त्रको मूलधारसँग कसरी थप मजबुत रूपमा जोड्न सकिन्छ भन्ने विषयमा केन्द्रित छलफल हुने जनाइएको छ । पछिल्लो समय बजारमा देखिएको उतार–चढाव, लगानीकर्ताको मनोविज्ञान र दीर्घकालीन नीतिको अभावबारे भइरहेका बहसका बीच यस्तो उच्चस्तरीय संवादलाई महत्वपूर्ण मानिएको छ ।

शेयर लगानीकर्ताको नजरमा नेकपा एमाले पछिल्लो वर्षहरूमा क्रमशः शेयर बजारमैत्री राजनीतिक दलका रूपमा चिनिँदै आएको छ । विशेषतः एमाले नेतृत्वमा सरकार रहेको अवधिमा पूँजी बजारले सकारात्मक संकेत देखाएको अनुभव लगानीकर्ताहरूले बारम्बार स्मरण गर्ने गरेका छन् । केपी शर्मा ओली प्रधानमन्त्री रहेको समय र विष्णु पौडेल अर्थमन्त्री हुँदा शेयर बजारलाई अर्थतन्त्रको महत्वपूर्ण मेरुदण्डका रूपमा स्वीकार गर्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिइनु, नीतिगत तहमा देखिएको समन्वय र नियामक निकायसँगको सहकार्यले बजारमा विश्वासको वातावरण बनेको थियो ।

अर्थमन्त्री विष्णु पौडेलको भूमिकालाई लिएर शेयर लगानीकर्ताहरू अझै पनि सकारात्मक रूपमा चर्चा गर्ने गर्छन् । पौडेल अर्थमन्त्री भएको समयमा नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डसँग देखिएको समन्वयकारी भूमिकाले बजारमा उल्लेखनीय उचाइ आएको धेरै लगानीकर्ताको बुझाइ छ । कतिपय अवस्थामा त पौडेलको नाम मात्रले पनि बजारमा मनोवैज्ञानिक तरंग पैदा हुने गरेको अनुभव लगानीकर्ता समुदायले खुलेर व्यक्त गर्दै आएका छन् । यही कारणले एमाले नेतृत्व र शेयर बजारबीचको सम्बन्धलाई लगानीकर्ताहरूले नजिकबाट नियालिरहेका छन् ।

यही पृष्ठभूमिमा चर्चित लगानीकर्ता दिपेन्द्र अग्रवालको उपस्थिति र भूमिकाले कार्यक्रमलाई थप चासोको केन्द्र बनाएको छ । अग्रवाल औपचारिक रूपमा नेकपा एमालेमा प्रवेश नगरे पनि पछिल्ला केही दिनयता उनको गतिविधि र अभिव्यक्तिले एमालेतर्फ झुकाव देखाएको चर्चा बजार र राजनीतिक वृत्तमा भइरहेको छ । शेयर लगानीकर्ता सम्बन्धी मुद्दालाई केन्द्रमा राखेर एमाले अध्यक्ष ओलीकै उपस्थितिमा कार्यक्रम आयोजना हुनु यसैको संकेतका रूपमा हेरिएको छ ।

अग्रवाल लामो समयदेखि शेयर बजारमा सक्रिय लगानीकर्ता हुन् । बजारको उतार–चढाव, नीतिगत कमजोरी र लगानीकर्ताका समस्या विषयमा उनी खुलेर बोल्दै आएका छन् । यस्तो व्यक्तित्वले राजनीतिक नेतृत्वसँग एउटै मञ्चबाट धारणा राख्नुले शेयर बजार र राजनीतिबीचको संवादलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ । यसलाई कतिपयले पूँजी बजारका मुद्दा अब राजनीतिक एजेन्डामा थप स्पष्ट रूपमा प्रवेश गर्न थालेको संकेतका रूपमा पनि व्याख्या गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*