शान्ति र सुशासनको लागि सबै समुदायबिच एकता जरुरीः प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थायित्वका लागि सबै समुदायबिच एकता अपरिहार्य भएको बताएकी छन् । सोनाम लोछारको अवसरमा नेपाल तामाङ घेदुङलगायत विभिन्न सङ्घ संस्थाहरूले सोमबार काठमाडौंको टुँडिखेलमा आयोजना गरेको तामाङ सांस्कृतिक महोत्सवमा प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।
सांस्कृतिक चाडपर्व, धार्मिक विविधता मुलुकको शक्ति र सम्पत्ति भएकाले यसप्रति गर्व गर्न सके राष्ट्रिय शक्ति बलियो बन्न सक्ने उनले बताइन् । उनले व्यक्तिगत स्वार्थभन्दा बृहत्तर हितलाई प्राथमिकता दिने संस्कार नेपालको सामाजिक जीवनको अभिन्न अङ्ग भएको उल्लेख गरिन् ।
समाजको भलाइका लागि योगदान गर्ने समाजको आधारभूत मूल्यलाई राजनीतिक व्यवहारमा पनि वरण गर्न सक्नुपर्ने उनको भनाइ छ । उनले मुलुकको रैथाने ज्ञान सीप र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेको बताइन् ।
तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम गरी सोमबार मनाइएको हो । मञ्जुश्री पात्रो अनुसार सोमबारदेखि २८६२ औँ वर्ष सुरु भएको छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।












