प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी आज

काठमाडौं । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ हुने निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा आज एकै दिन उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगले तोकेको तालिकाअनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न सकिनेछ।
राजनीतिक दलहरूले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाइसकेका छन्। केही विवादित वा बाँकी क्षेत्रका उम्मेदवार भने आज बिहानसम्म टुंग्याइनेछ। एमाले, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अधिकांश क्षेत्रमा उम्मेदवार तय गरिसकेका छन्। कांग्रेसको भने केही स्थानमा उम्मेदवार टुंगो लगाउन अन्तिम छलफल जारी छ।
निर्वाचन आयोगका अनुसार उम्मेदवारले मनोनयन दर्ता गर्दा विभिन्न कागजात अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। यसमा नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपि, सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम भएको प्रमाण, प्रस्तावक र समर्थकको विवरण, दलबाट उम्मेदवारी भए आधिकारिक पत्र र १० हजार रुपैयाँ धरौटी रकमको रसिद समावेश छन्। महिला, दलित, अल्पसंख्यक र आर्थिक रूपमा विपन्न उम्मेदवारका लागि धरौटी रकममा ५० प्रतिशत छुट दिइनेछ।
साथै उम्मेदवारले चल–अचल सम्पत्ति, बैंक खाता, ऋण, शेयरलगायत विवरण समेटिएको स्वघोषणा–पत्र, बेरुजु फस्र्योट र पेस्की फस्र्योटको प्रमाण तथा निर्वाचन आचारसंहिताप्रति प्रतिबद्धता–पत्र पनि बुझाउनु पर्नेछ । निर्वाचन आयोगले मनोनयन दर्ताका क्रममा कुनै पनि किसिमको तडकभडक नगर्न आग्रह गरेको छ। बाजागाजा, जुलुसजस्ता गतिविधि कानून र आचारसंहिताले निषेध गरेको भन्दै उल्लंघन भए कारबाही गरिने चेतावनी समेत आयोगले दिएको छ।
मनोनयन दर्ता आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुनेछ भने साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गरिने छ। भोलि बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ। भोलि दिउँसो ३ बजेदेखि बिहीबार ५ बजेसम्म मनोनयनपत्र र उजुरी छानबिन गरी साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।
शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। सोही दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म् उम्मेदवारलाई निर्वाचन चिन्ह दिइनेछ। उम्मेदवारले निर्वाचन चिह्न पाएपछि ३ देखि १८ फागुनसम्म १५ दिन प्रचारप्रसार गर्न पाउनेछन्। मतदान भने २१ फागुन बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।












