उमेर नपुगेकालाई ज्येष्ठ नागरिक भत्ता खुवाएर भ्रष्टाचार, वडाध्यक्षसहित ७ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको पचरौता नगरपालिका–६ का वडाध्यक्ष मकबुल मिया अन्सारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
उमेर नपुगेका व्यक्तिलाई ज्येष्ठ नागरिक भत्ता वितरण गरेको आरोपमा आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। आयोगका अनुसार भत्ता वितरण प्रक्रियामा अनियमितता गरी राज्यकोषमा क्षति पुर्याइएको पाइएको छ।
मुद्दा दायर गरिएका व्यक्तिहरूमा वडाध्यक्ष अन्सारीसँगै सो वडाका विभिन्न कालखण्डका सचिवहरू संगीता घिमिरे, पिटर थारू र राजाराम प्रसाद साह रहेका छन्। यसैगरी स्थानीय साजुला मिया अन्सारी, रबैया अन्सारी र उत्तम मिया अन्सारीविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिअनुसार अभियुक्तहरूविरुद्ध ८४ हजारदेखि ४ लाख ७६ हजार रुपैयाँसम्म बिगो कायम गरिएको छ। विशेष अदालतमा मुद्दा दायर भएसँगै अब न्यायिक प्रक्रियामार्फत घटनाको टुंगो लाग्ने आयोगले जनाएको छ।
lghiEB











