डोटीलाई प्रदेश राजधानी बनाउन नसके राजीनामा दिन्छु भन्ने आलेले कैलाली-५ बाट दर्ता गरे उम्मेदवारी

काठमाडौँ । पटक–पटक डोटेली जनतालाई प्रदेश राजधानी बनाइदिने आश्वासन दिँदै निर्वाचन जितेका प्रेम आले मगरले यसपटक डोटी छोडेर कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले तीन पटक निर्वाचित भएको क्षेत्र डोटीलाई त्यागेर प्रदेश राजधानी रहेको जिल्लातर्फ यात्रा गरेपछि आश्वासन, विश्वास र राजनीतिक नैतिकतामाथि प्रश्न उठेको हो ।
डोटीमा लगातार निर्वाचन जित्दा आलेका प्रमुख चुनावी मुद्दामध्ये प्रदेश राजधानी बनाउने प्रतिवद्धता अग्रपंक्तिमा रहँदै आएको थियो । स्थानीय सभासम्मेलनदेखि आमसभासम्म उनले राजधानी नबने आफू पदबाट राजीनामा दिने घोषणा समेत गरेका थिए । तर समय बित्दै जाँदा राजधानीको विषय कार्यान्वयनमा नआउँदा र अन्ततः आले स्वयंले डोटीबाट उम्मेदवारी नदिएपछि त्यही आश्वासन उल्टै आलोचनाको केन्द्र बनेको छ ।
सुदूरपश्चिम प्रदेश गठनपछिको राजधानी विवादमा डोटीको नाम लामो समय चर्चामा रह्यो । भौगोलिक सन्तुलन, ऐतिहासिक पृष्ठभूमि र प्रशासनिक पहुँचका आधारमा डोटी राजधानीका लागि उपयुक्त रहेको दाबी गरिँदै आएको थियो । यही भावनालाई चुनावी मुद्दा बनाउँदै आलेले विगतका निर्वाचन जितेका थिए । तर अन्ततः प्रदेश राजधानी कैलालीको गोदावरी क्षेत्रमा स्थापना भएपछि डोटीमा निराशा फैलिएको थियो । त्यसैबीच आलेले डोटी छोडेर कैलाली–५ रोज्नुले राजनीतिक निर्णयभन्दा भावनात्मक चोट दिएको प्रतिक्रिया स्थानीय तहमा देखिन थालेको छ ।
यता, कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै आलेले कैलाली जिल्लाको समग्र विकासलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने बताएका छन् । उनले विशेषगरी गेटामा रहेको धनगढी विमानस्थल, सेती प्रादेशिक अस्पताललगायतका महत्त्वपूर्ण पूर्वाधार परियोजनाको विकास र स्तरोन्नतिमा आफू सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । क्षेत्रीय विकासका सवालमा आफ्नो अनुभव र पहुँच उपयोग गर्ने उनको दाबी छ ।
तीन पटक डोटेलीको जनादेश पाएका आले निस्किए अवसरवादी, प्रदेश राजधानीको मुद्दा छोडेर भागे कैलाली!












