शेयर बिक्री तिर हाबि हुँदा पुँजी बजारमा करेक्सनः १२ उपसूचक राताम्य, कस्तो होला आगामी यात्रा ?

७ माघ २०८२, बुधबार १५:०७

काठमाडौँ । मंगलबार उच्च सुधार देखिएको शेयर बजारमा आज भने करेक्सन देखिएको छ । लगानीकर्ताले नाफा बुक गर्ने तिर झुम्मिदा बजारमा केहि करेक्सन देखिएको हो । नेप्से परिसूचकमा बुधबार केही अंकको गिरावट देखिएको भए पनि बजारमा सामान्य रुपमा सकारात्मक लय कायम नै छ ।

हिजो फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन सुनिश्चित भएसँगै शेयर बजारमा उल्लेखनीय उछाल देखिएको थियो। लामो समयदेखि राजनीतिक अन्यौलमा गुज्रिएको बजार समयमै निर्वाचन भई राजनीतिक तथा नीतिगत स्थिरता कायम हुने अपेक्षाका कारण सकारात्मक दिशातर्फ अघि बढेको हो। निर्वाचनको मिति तय भएपछि लगानीकर्तामा पुनः आत्मविश्वास बढेको थियो।

निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूले मंगलबार माघ ६ गते मनोनयन दर्ता गरेसँगै चुनाव नसर्ने र तोकिएकै मितिमा हुने स्पष्ट संकेत देखिएको छ । यही सुनिश्चितताले सेयर बजारका लगानीकर्तामा उत्साह थपिएको छ, जसको प्रभाव नेप्से परिसूचक र कुल कारोबार रकम दुवैमा देखिएको छ । राजनीतिक अस्थिरताको त्रास कम हुँदै गएसँगै निष्क्रिय रहेका लगानीकर्ताहरू समेत पुनः बजार प्रवेश गर्न थालेका छन्।

विश्लेषकहरूका अनुसार शेयर बजारका लागि आवश्यक अधिकांश नीति तथा सूचकहरू हाल अनुकूल दिशामा छन् । बैंक ब्याजदर निरन्तर घट्दो क्रममा रहेकाले शेयर धितो कर्जामा आकर्षण बढेको छ । ब्याजदर घटेसँगै लगानीयोग्य रकमको प्रवाह बढ्दा बजारमा सकारात्मक माहोल बनेको छ । तर, नाफा बुकिङका कारण आज बजारमा करेक्सन देखिएको भए पनि लगानीकर्ताको विश्वास अझै सकारात्मक रहेको विश्लेषकहरूले बताएका छन्।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.४३ अकंले घटेर २७०५.३८ बिन्दुमा कायम भएको छ । आज ३२४ कम्पनीको २ करोड १६ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड ३६ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन वाणिज्य बैंक समूहको ०.१८ प्रतिशत, विकास बैंक समूहको ०.५९ प्रतिशत, फाइनान्स समूहको १.६७ प्रतिशत र होटल तथा पर्यटन समूहको १.८८ प्रतिशतले शेयर मूल्य घटेको छ ।

बुधबार ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७४ कम्पनीको घटेको छ । ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*