राष्ट्रिय सुरक्षामा चुनौती थपिएको छ, विश्वपरिवेश जटिल बन्दै : प्रधानसेनापति

८ माघ २०८२, बिहीबार १३:१२

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा अवस्था बहुआयामिक, जटिल र चुनौतीपूर्ण बन्दै गएको बताएका छन् ।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिद्वारा आयोजित ‘नेपालको राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र समृद्धिमा प्रतिरक्षा विश्वविद्यालयको भूमिका’ विषयक कार्यक्रममा बोल्दै प्रधानसेनापति सिग्देलले बहुपक्षीय संस्थाहरू कमजोर बन्दै जानु, स्वार्थकेन्द्रित गठबन्धनको प्रभाव बढ्नु, सूचना प्रविधिको व्यापक प्रयोग र दुरुपयोग तथा साना राष्ट्रहरूको निर्णय क्षमता घट्नुले राष्ट्रिय सुरक्षामा थप चुनौती सिर्जना भएको बताए ।

उनले राष्ट्रिय सुरक्षाका आयाम, क्षेत्र र अभ्यासमा सरोकारवाला सबैबीच साझा सोच र धारणा आवश्यक रहेको उल्लेख गरे । ‘नेपालको भू–राजनीतिक अवस्था, तरल राजनीतिक परिवेश, विभिन्न समूह तथा सङ्घसंस्थाका गतिविधि, बसाइँसराइ, वैदेशिक रोजगारीमा निर्भरता, घट्दो कृषि उत्पादन र बढ्दो आयातका कारण आर्थिक तथा सामाजिक सुरक्षामा थप जटिलता उत्पन्न भइरहेको छ’ उनले भने ।

प्रधानसेनापति सिग्देलले जटिल र बहुआयामिक सामाजिक वातावरणमा बाह्य तथा आन्तरिक सुरक्षामा पर्नसक्ने प्रभावको गहन विश्लेषण गर्दै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक दृष्टिकोणसहित प्रभावकारी राष्ट्रिय सुरक्षा व्यवस्था अवलम्बन गर्नु आजको आवश्यकता भएको बताए ।

उनका अनुसार राष्ट्रिय सुरक्षाको प्रमुख उद्देश्य राज्यशक्तिका सबै संयन्त्रको समन्वयात्मक उपयोगमार्फत राष्ट्रिय हितको संरक्षण गर्नु हो । ‘हालको विश्वपरिवेशमा राष्ट्रिय सुरक्षा र प्रतिरक्षा केवल परम्परागत सैनिक सुरक्षामा सीमित छैन । यो सामाजिक स्थायित्व, सुशासन, आर्थिक समृद्धि, सशक्त कूटनीति, प्रभावकारी सूचना संयन्त्र, प्रविधिको उपयोग र राष्ट्रिय हितसँग सरोकार राख्ने सबै पक्षसँग जोडिएको विषय हो’ उनले स्पष्ट पारे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*