अन्डर इन्स्योरेन्सको विकृत्तिमा दोषी को ? एक–अर्कालाई दोषारोपण गर्दै बीमा र बैंक

काठमाडौं । बैंकहरुले आफूले धितोमा राखेका व्यक्तिगत घर तथा अन्य संरचनाको थोरै मूल्यमा बीमा (अन्डर इन्स्योरेन्स) गराउँदा बीमा दावी भुक्तानीमा नै समस्या देखिएको छ । पछिल्लो समय अधिकांश दावीको बीमा कम मूल्यको मात्रै भएकाले भुक्तानीमा समस्या देखिएको हो । बैंकमा कार्यरत कर्मचारीहरुमा बीमाबारे पर्याप्त ज्ञान नहुँदा उत्पन्न भएको समस्याबाट बैंकरहरु भने भाग्न खोजिरहेका छन् ।
बैंकहरुबाट ऋण लिएका ग्राहकले आफूले धितोमा राखेको घरको ऋण रकम बराबरको मात्रै बीमा गर्ने तर क्षति पु¥याएपछि घरको मूल्य बराबरकै क्षतिपूर्ति माग्ने भएकाले अहिले समस्या देखिएको हो । ग्लोबल आइएमई बैंकका सिईओ सुरेन्द्र राज रोग्मीले बैंकको काम बीमामा कस्तो प्रकारको भ्यालुएसन भएको छ वा छैन भनेर हेर्ने हैन, हामीले ऋणीको कर्जाको सुरक्षाको बीमा गराउनु हो, यस बिषयमा बीमा कम्पनीहरुको कारणले नै अन्डर भ्यालुमा बीमा भएको बताँउछन् ।
नेपाल बीमक संघका पूर्व अध्यक्ष चंकी क्षेत्रीले बैंकहरुले ऋणीको ऋणको अवस्थामा मात्रै केन्द्रित रहेर बीमा गर्दा ऋणीहरु मारमा परेको स्वीकार गरेका छन् । बैंकका ऋणीहरुले गराएको बीमामा अधिकांश बैंकहरुले गरेको घरमा अण्डर इन्स्योरेन्सको समस्या देखिएको क्षेत्री स्वीकार गछन् ।
नेपाल बीमक संघका महासचिव सुनिल बल्लभ पन्तले बैंकहरुले ऋणीको फेयर भ्यालुमा बीमा नगर्दा यस्तो समस्या देखिएको बीमापोष्टलाई बताएका छन् । ऋणीहरुले पनि बीमाको बिषयमा जानकारी भएपनि फेयर भ्यालु भन्दा सस्तोमा बीमा गर्न पाउने प्रलोभनमा परी बीमा गर्ने गरेको उनी बताउछन् । नेपाल राष्ट्र बैंकसँग धितोमा राखेका व्यक्तिगत घर तथा अन्य संरचना र ऋणीहरुको फेयर भ्यालुमा बीमा गराउनुपर्ने व्यवस्था निर्देशिकाको रुपमा लागू गनुपर्ने बताँउछन् । सो पश्चात् यस्तो समस्या नदेखिने उनको बुझाई छ ।
’बैंकहरुले ऋण प्रयोजनका लागि जति ऋण दियो त्यतिको मात्रै बीमा गराएका हुन्छन्,’ पन्तले भने, ’अहिले क्षति भएपछि ग्राहकले घरको मूल्य अनुसारको दावी गरेर कहाँ पाउँछन् र ?’
महासचिव पन्तका अनुसार बैंकहरुले आफ्ना ग्राहकलाई ऋण दिने बेलामा सबै कुरा नभनेकाले नै अहिले समस्या भएको बताए । ’बैंकहरुले पनि ग्राहकलाई जति ऋण लियो त्यतिको मात्रै बीमा गराउन लगाउँछन्, कतिपय ग्राहकले त के भएको छ भनेर समेत थाहा पाउँदैनन्,’ उनले भने, ’बीमा कम्पनीले कतिपय यस्ता ग्राहक नचिनेकोसमेत देखिन्छ । अब यस्तो गर्नु हुँदैन ।’
बीमितले तिरेको प्रिमियम अनुसारको दावी पाउने भन्दै पन्तले बैंकसँग ऋण लिने बेलामा आफ्नो घरको कति बीमा गर्ने हो त्यो छान्ने अधिकार ऋणीलाई नै दिनुपर्ने बताए ।
’ऋण लिनेलाई पनि मेरो घरको कति रकमको बीमा भएको छ भन्ने थाहा छैन, बैंकहरुले कागज मिलाउन मात्रै यसरी जथाभावी गर्न भएन,’ पन्तले भने, ’एक करोडको घर धितोमा राखेर २० लाख ऋण लिएको हुन्छ, बैंकले पनि २० लाखको मात्रै बीमा गराएको हुन्छ र प्रिमियम पनि त्यतिकै तिरेको हुन्छ, अनि भूकम्पले भत्कियो भनेर एक करोड माग्दैमा कहाँ पाइन्छ र ?’
यस बिषयमा राष्ट्र बैंकसँग पटक पटक छलफल गरेपनि गम्भीर रुपमा केन्द्रिय बैंकले नलिएको उनको बुझाई छ ।
बीमा विज्ञ रविन्द्र घिमिरेले भने अन्तराष्ट्रिय अभ्यासमा राष्ट्र बैकले बैंकहरुको मात्र नभई शेयर बजार, बीमा, सिआईटी, र सामाजिक सुरक्षासम्बन्धी कोषहरुको नियमन गर्ने तर नेपालमा यो अभ्यास लागू नभएको बताँउछन् । यस बिषयमा राष्ट्र बैंकको अनुसन्धान विभागका निर्देशकहरुसँग छलफल गरेपनि गम्भीर रुपमा नलिएको उनी बताँउछन् ।
पछिल्लो समय जेनजी आन्दोलन पश्चात बैंकसँग धितोमा राखेका व्यक्तिगत घर तथा अन्य संरचना र ऋणीहरुको फेयर भ्यालुमा बीमा गराउन नसक्नुमा बीमा प्राधिकरणको नेत्तृवदायी भूमिका र राष्ट्र बैकले यस बिषयलाई गम्भीरताका साथ लिन नसक्नु रहेको घिमिरेको भनाई छ ।
बैंकहरुले अन्डर इन्स्योरेन्स गराउँदा अहिले ग्राहक झुक्किने अवस्था आएको घिमिरेले बताए । ’बैंकहरुले अन्डर इन्स्योरेन्स गराएका छन्, ग्राहकले थोरै रकमको प्रिमियम तिरेका छन्,’ उनले भने, ’ग्राहकलाई त्यो कुरा थाहा हुँदैन त्यसैले उनीहरु धेरै रकम माग गर्छन् ।’ घिमिरेले बैंकहरुले आफ्ना ग्राहकलाई धितोमा राखिएको घरको पुरा मूल्य बराबरकै बीमा गर्न नलगाउँदा अहिले ग्राहकमा समस्या परेको बताए ।
तर नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले भने बीमा कम्पनीहरुले ’इन्सपेक्सन’ नगरी बीमालेख उपलब्ध नगराउने भएकाले बैंकहरुलाई दोष दिनु गलत भएको बताँउछन् ।
’बीमालेख जारी गर्दा बीमा कम्पनीहरुले घरको इन्सपेक्सन गराएका हुन्छन्, उनीहरुकै प्रतिनिधिले नहेरी बीमा गराउँदैनन्,’ कोइरालाले भने, ’यस्तो अवस्थामा बैंकहरुलाई दोष दिएर मात्रै हुँदैन, कमजोरी उनीहरुको पनि छ ।’
उनले ग्राहकले नै थोरै प्रिमियम तिर्न चाहने भएकाले कहिलेकाँही बैंकहरुले त्यसो गराएको भएपनि सबै ऋणमा यस्तो समस्या नरहेको दावी गरे । उनले बीमाको चेतना फैल्याउने काम बीमा कम्पनीको भएको भन्दै बैंकहरुलाई दोष दिन नहुने बताए ।












