बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी कुन कम्पनी पुयार्यो कुनको बाँकि छ ?

काठमाडौं । पाँच बीमा कम्पनीले तोकिएको न्यूनतम् चुक्ता पूँजी पुर्याउन नसकेको देखिएको छ । जीवन बीमा कम्पनीले पाँच अर्ब रूपैयाँ र निर्जीवन बीमा कम्पनीहरूले दुई अर्ब ५० करोड रूपैयाँ न्यूनतम् चुक्तापुँजी कायम गर्नुपर्नेछ ।
झण्डै चार बर्षपछि पाँच कम्पनीले त्यसअनुसार चुक्ता पूँजी पुर्याउन सकेका छैनन् ।जीवन बीमातर्फ राष्ट्रिय जीवन बीमा कम्पनीले चुक्ता पुँजी पुर्याएको छैन । हाल नेपालमा १४ जीवन बीमा कम्पनी छन् । अन्य निजी कम्पनीले चुक्ता पूँजी पुर्याइसकेको छन् । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको भने १८ करोड १० लाख रूपैयाँ मात्रै पूँजी छ । यो कम्पनीले न्यूनतम् पाँच अर्ब पूँजी कायम गर्नुपर्छ ।
यस्तै, निर्जीवन बीमातर्फ चार कम्पनीको चुक्तापुँजी पुगेको छैन । हाल नेपालमा १४ निर्जीवन बीमा कम्पनी छन्, उनीहरुले प्रति कम्पनी दुई अर्ब ५० करोड रूपैयाँ न्यूनतम चुक्ता पूँजी कायम गर्नुपर्छ ।
बीमा प्राधिकरणबाट प्राप्त तथ्यांक अनुसार १० निर्जीवन बीमा कम्पनीले न्युनतम दुई अर्ब ५० करोड रुपैयाँ न्यूनतम पूँजी कायम गरेका छन् । तर, चार कम्पनीले अझै न्यूनतम् पूँजी कायम गरेका छैनन् ।
सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको २६ अर्ब ६६ करोड ३९ लाख रूपियाँ, सानिमा जीआईसीको दुई अर्ब १५ करोड रूपियाँ, प्रभु इन्स्योरेन्सको एक अर्ब ७० करोड रूपियाँ र युनाइटेड अजोड इन्स्योरेन्सको दुई अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजी छ ।
पहिला जीवन बीमा कम्पनीको दुई अर्ब र निर्जीवन बीमा कम्पनीको एक अर्ब रूपैयाँ न्यूनतम् चुक्तापुँजी हुनुपर्ने व्यवस्था थियो । तर, २०७८ प्राधिकरणले जीवन बीमा कम्पनीलाई पाँच अर्ब र निर्जीवन बीमा कम्पनीलाई दुई अर्ब ५० करोड रूपियाँ न्यूनतम् चुक्ता पूँजी कायम गर्न निर्देशन दिएको थियो ।
पाँच कम्पनीले पुँजी पुराउन सकेका छैनन् । प्राधिकरणले पूँजी बढाउन निर्देशन दिएको चैतमा चार बर्ष पुग्छ ।
यस्तै, पुनर्बीमा कम्पनीले न्यूनतम् २० अर्ब रूपियाँ चुक्ता पूँजी कायम गर्नुपर्ने भनिएपनि हाललाई त्यो स्थगित गरिएको छ ।
हाल नेपाल रिको १३ अर्ब ४२ करोड २१ लाख र हिमालयन रिको १० अर्ब ८६ करोड ८० लाख रूपियाँ बराबरको चुक्ता पूँजी छ ।














