उपत्यकामा एकैदिन १८ फर्ममा बजार छापा, न्यू शिव स्टोरलाई दुई लाखभन्दा बढी जरिवाना

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सीमित समयको बजार अनुगमन तथा निरीक्षणका क्रममा एकैदिन काठमाडौं, भक्तपुर र ललितपुरका १८ वटा फर्ममा छापा मारेको छ। उपभोक्ता हित संरक्षण र बजारमा अनुशासन कायम गर्ने उद्देश्यका साथ गरिएको अनुगमनमा विभिन्न किसिमका कैफियत भेटिएको विभागले जनाएको छ।
अनुगमनका क्रममा उपभोक्ता संरक्षणसम्बन्धी कानुन उल्लङ्घन गरेको पाइएपछि काठमाडौं–२९, नयाँ बसपार्कस्थित न्यू शिव स्टोरलाई दुई लाख एक हजार रुपैयाँ जरिवाना गरिएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम उक्त फर्मलाई कारबाही गरिएको विभागले स्पष्ट पारेको छ।
त्यसैगरी, हिमालयन ब्रुअरी प्रालिलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। निरीक्षणका क्रममा प्रारम्भिक रूपमा केही अस्पष्टता देखिएपछि थप कागजात परीक्षणका लागि कम्पनीलाई बोलाइएको विभागको भनाइ छ।
अनुगमनमा परेका अन्य १६ वटा फर्मलाई भने तत्काल सुधार गर्नुपर्ने विषयमा सुधारात्मक निर्देशन दिइएको छ। विभागका अनुसार ती फर्ममा गम्भीर कानुनी उल्लङ्घन नभए पनि मूल्यसूची, बिलिङ प्रणाली, लेबलिङ तथा उपभोक्तालाई सूचना दिने व्यवस्थामा कमजोरी देखिएको थियो।












