निर्वाचन खर्चका लागि उम्मेदवार र दलले छुट्टै खाता खोल्नुपर्ने, आयोगद्वारा राष्ट्र बैंकलाई पत्राचार

काठमाडौं । निर्वाचन खर्चलाई पारदर्शी र व्यवस्थित बनाउन निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दललाई छुट्टै बैंक खाता खोल्न अनिवार्य गरेको छ। मतदाता प्रभावित पार्ने उद्देश्यले मनलाग्दी खर्च गर्ने प्रवृत्ति रोक्न आयोगले निर्वाचनलक्षित खर्चलाई बैंकिङ प्रणालीसँग जोडेर नियमन गर्ने प्रक्रिया अघि बढाएको हो।
यसका लागि आयोगले नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्दै उम्मेदवार र दलका निर्वाचनलक्षित खर्चका लागि विशेष बैंक खाता खोल्ने व्यवस्था कार्यान्वयन गर्न आग्रह गरेको छ। आयोगले जारी गरेको निर्वाचन आचारसंहिताअनुसार चुनावी खर्चका सबै कारोबार छुट्टै बैंक खातामार्फत् गर्नुपर्ने व्यवस्था गरिएको छ।
आयोगले शुक्रबार छुट्टै निर्णय गर्दै राष्ट्र बैंकलाई पत्राचार गरेको हो। पत्रमा उम्मेदवार र दलहरूले गर्ने निर्वाचनलक्षित खर्चसम्बन्धी आचारसंहिताको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न विशेष खाता खोल्ने व्यवस्था आवश्यक रहेको उल्लेख गरिएको छ।
प्रत्यक्ष तथा समानुपातिक दुवै प्रणालीअन्तर्गतका दलीय र स्वतन्त्र उम्मेदवारहरूले समेत छुट्टै खातामार्फत् मात्र बैंकिङ कारोबार गर्न पाउने व्यवस्था गरिएको छ। यस्तो खाता नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयू) मा आवद्ध बैंक तथा वित्तीय संस्थामार्फत् मात्र सञ्चालन गर्नुपर्ने आयोगको पत्रमा उल्लेख छ।
आयोगले निर्णय गरेर बन्द गर्न नलगाएसम्म ती विशेष खाता सक्रिय रहनेछन्। आयोगबाट औपचारिक रूपमा खाता बन्द गर्ने निर्णय भएपछि मात्र ती खाता निष्क्रिय गर्नुपर्ने व्यवस्था गरिएको छ।












