माछापुच्छ्रे बैंकको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोश्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार गत आवको पुस मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा बैंकको नाफासँगै प्रतिशेयर आम्दानीमा वृद्धि भएको हो।
बैंकले गत आवको पुस मसान्तसम्म ८० करोड ७३ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवमा २५.२५ प्रतिशतको वृद्धिसँगै १ अर्ब १ करोड ११ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।
त्यसैगरी गत आवको दोश्रो त्रैमाससम्म बैंकले २ अर्ब ८२ करोड ३६ लाख ७० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा ४.१६ प्रतिशतको वृद्धि सहित २ अर्ब ९४ करोड १० लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
त्यस्तै समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ३ अर्ब ६९ करोड ९९ लाख ४१ हजार रुपैयाँबाट बढेर ४ अर्ब २ करोड ६९ लाख ९१ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १ अर्ब ६२ करोड २७ लाख ९७ हजार रुपैयाँबाट घटेर १ अर्ब ४५ करोड ६८ लाख ९१ हजार रुपैयाँमा झरेको छ।
यद्यपि बैंकको प्रतिशेयर आम्दानी गत आवको पुस मसान्तसम्म १३.३६ रुपैयाँ रहेकोमा चालू आवको पुस मसान्तसम्म बढेर १६.७३ रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा (एनपीएल) ४.५४ प्रतिशतबाट ४.२५ प्रतिशतमा झरेको छ भने प्रतिशेयर नेटवर्थ १६१.६ रुपैयाँ कायम भएको छ।
चुक्ता पूँजी १२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ रहेको यस बैंकको शेयर प्रिमियम ३ करोड ८ लाख रुपैयाँ, जगेडा कोषमा ४३ करोड ६३ लाख रुपैयाँ र रिजर्भ कोषमा ६ अर्ब ९८ करोड १८ लाख रुपैयाँ सञ्चिति रहेको छ। बैंकले १ खर्ब ५४ अर्ब ९५ लाख रुपैयाँ कर्जा प्रवाह गरी २ खर्ब ४ अर्ब ४ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।












