सांग्रिला डेभलपमेन्ट बैंकले कमायो ३० करोड नाफा, अन्य सूचकमा लोभलाग्दो ग्रोथ

११ माघ २०८२, आईतवार ०७:१४

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको चालू आर्थिक वर्ष २०८२/८३ को दोश्रो त्रैमासिक वित्तीय विवरणमा लोभलाग्दो प्रगति गरेको देखिएको छ। गत आवको पुस मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा वित्तीय सूचकहरूमा ग्रोथ देखिएको हो।

गत आवको पुस मसान्तसम्म १९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले त्यसको तुलनामा चालू आवको पुस मसान्तसम्म करीब ५४ प्रतिशतको वृद्धि सहित ३० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि ९१ करोड ८२ लाख रुपैयाँबाट १८.४९ प्रतिशतले बढेर १ अर्ब ८ करोड ८० लाख रुपैयाँ नाघेको छ भने कुल सञ्चालन आम्दानी १ अर्ब ५ करोड २४ लाख रुपैयाँबाट बढेर १ अर्ब २५ करोड ७२ लाख रुपैयाँ पुगेको छ।

बैंकले गत आवको पुस मसान्तसम्म २८ करोड ३२ लाख रुपैयाँ सञ्चालन नाफा कमाएकोमा त्यसको तुलनामा चालू आवको पुस मसान्तसम्म सञ्चालन नाफा ५९.३३ प्रतिशतले बढेर ४५ करोड १३ लाख रुपैयाँ नाघेको छ।

त्यसैगरी समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ११.४६ रुपैयाँबाट बढेर १६.२१ रुपैयाँ पुगेको र खराब कर्जा (एनपीएल) ४.९९ प्रतिशतबाट बढेर ६.८७ प्रतिशत पुगेको वित्तीय विवरणले देखाएको छ। बैंकको प्रतिशेयर नेटवर्थ भने १५३.२४ रुपैयाँ रहेको छ।

चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ९ करोड ४६ लाख रुपैयाँ र रिजर्भ कोषमा १ अर्ब ८९ करोड ३३ लाख रुपैयाँ सञ्चित रहेको छ। बैंकले ४४ अर्ब ४० करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह गरी ५४ अर्ब ३९ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*