पब्लिक डिबेटका लागि तयार छौंः केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका मध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू नयाँ दलहरूसँग पब्लिक डिबेटका लागि तयार भएको बताएका छन्।
प्रतिनिधिसभा निर्वाचन नजिकिंदै गर्दा चुनावमा होमिएका पुराना तथा नयाँ दलहरूबीच एउटै मञ्चमा उभिएर पब्लिक डिबेट गर्नु पर्ने माग बढ्दै गएको समयमा केपी शर्मा ओलीले आफू त्यसका लागि तयार भएको बताएका हुन्।
उनले सामाजिक सञ्जाल फेसबूकमा यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको भन्दै आफू नयाँ पार्टीका प्रमुखहरूसँग एउटै मञ्चमा उभिएर परस्परमा डिबेट गर्न तयार भएको प्रतिक्रिया दिएका हुन्।
अहिले सामाजिक सञ्जालमा रास्वपाबाट प्रधानमन्त्रीका लागि प्रस्तावित बालेन शाह, एमालेबाट प्रस्तावित केपी शर्मा ओली, कांग्रेसबाट प्रस्तावित गगन कुमार थापा र नेकपाका प्रमुख नेता लगायतकाबीच एउटै मञ्चमा बसेर जनताका अघि पब्लिक डिबेट हुनु पर्ने माग बढ्दै गएको छ।
‘देशको नेतृत्व गर्न खोज्ने दलहरूको एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ।’ ओलीले लेखेका छन्।
यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले केके गर्यौं भन्ने तथ्य र अब कसरी काम गर्छाैं भन्ने एजेण्डा प्रस्तुत गर्न आफू तयार भएको बताएका छन्। ओलीले यसरी सीधा प्रश्न गर्न खडा गरिएको मञ्चमा आफू उभिन तयार भएको प्रतिवद्धता समेत जनाएका छन्।












