राष्ट्रिय सभाको १७ सिटका लागि आज मतदान हुँदै

काठमाडौं । राष्ट्रिय सभाको १७ सिटका लागि आज मतदान हुँदैछ। आउँदो फागुन २० गतेबाट राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि सकिने भएकाले रिक्त स्थान पूर्तिका लागि मदतान हुन लागेको हो।
एकजना निर्विरोध निर्वाचित भइसकेको र १ जना मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने भएकाले १७ सिटका लागि मतदान हुन लागेको हो। राष्ट्रिय सभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गर्नु पर्ने व्यवस्था छ।
जुन प्रदेशबाट सिट रिक्त हुन लागेको हो त्यही प्रदेशभित्रका मतदाताबाट नयाँ सदस्य निर्वाचित गरिनेछ। मतदान प्रदेश राजधानीमा हुनेछ। राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभा सदस्य, पालिका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षले मतदान गर्नेछन्। मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ र मतदान सकिएलगत्तै गणना थाल्ने तयारी निर्वाचन आयोगले गरेको छ।












