एनआईसी एसिया बैंक बचाउन आएका सीईओ आफैं कर्मचारीको गुटबन्दीमा रमाउँदै, कर्मचारी थप निराश

काठमाडौं । लामो समयदेखि समस्याग्रस्त अवस्थाबाट गुज्रिरहेको एनआईसी एसिया बैंकमा नयाँ सीईओको रूपमा सुजित कुमार शाक्य आएपछि समस्याको समाधान हुनुको साटो झनै समस्या बढ्न थालेको छ । नयाँ सीईओले कर्मचारीहरूमा गुटबन्दी गर्दै सरुवा गर्न थालेपछि कर्मचारीहरूमा असन्तुष्टि बढ्न थालेको हो ।
पछिल्लो समय अन्तर शाखा र विभाग सरुवाको आतंक नै मच्चिएको थियो । जसका कारण केही कर्मचारीहरूले जागीर छोडिसकेको बुझिएको छ । न्यूनतम तलव सुविधामा पायक नपर्ने ठाउँमा खटाउने जस्ता प्रशासनको कार्यले अप्ठेरो पर्ने गरेको गुनासो कर्मचारीहरूको छ ।
एनआईसी एसिया बैंकमा कार्यरत तल्ला तहदेखि माथिल्लो तहसम्मै गुटबन्दी चुलिंदै गएको छ । गुटबन्दीका कारण कतिपय शाखाहरूको दैनिक काम समेत प्रभावित हुने अवस्थामा पुगेको बताइन्छ । कर्मचारीहरूले फोर्स लिभ लिँदा समेत विभागीय नेतृत्वलाई थाहा नहुँदा सर्वसाधारण सेवा पाउनबाट वञ्चित समेत हुने गरेका छन् ।
सिईओ शाक्यको व्यवहारका कारण बैंकभित्र थुप्रै कुशल बैंकरहरू जागीर छोड्ने अवस्थामा पुग्न लागेको चर्चा बैंकभित्र व्याप्त छ । बैंकभित्र कर्मचारीमाथि गरिएको अन्याय र पछिल्लो अवस्थाको बारेमा जिज्ञाशा राख्न खोज्दा सिईओ शाक्यले बेसलेस भनेर प्रतिक्रिया दिएका छन् ।












