डिजी हब टीएमएसको गडबडीले शेयर बजारमा अवरोध, १ दर्जन ब्रोकर ब्लक

काठमाडौँ । डिजी हबको व्यवस्थापनमा सञ्चालन भइरहेको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टीएमएस)मा समस्या देखिएपछि करिब एक दर्जन ब्रोकर कम्पनीका लगानीकर्ताले शेयर कारोबार गर्न असमर्थ बनेका छन्।
चुनावको माहोल बन्दै गर्दा शेयर बजार केही दिनदेखि निरन्तर बढ्दो अवस्थामा रहेको छ। यसै समयमा टीएमएसमा आएको गडबडीले गर्दा बजार बढ्दा समेत सम्बन्धित ब्रोकरमार्फत कारोबार गर्ने लगानीकर्ताले शेयर बेच्न नपाएको गुनासो गरेका छन्।
नेप्सेले नयाँ एपीआई नीति ल्याएर निजी क्षेत्रले तयार पारेका टीएमएसलाई समेत शेयर कारोबारका लागि मान्यता दिएपछि केही ब्रोकर कम्पनीले डिजी हबले उपलब्ध गराएको टीएमएस प्रयोगमा ल्याएका थिए। यसैबीच धेरै ब्रोकरले नेप्सेले उपलब्ध गराएको टीएमएस नै प्रयोग गरिरहेकाले समस्या नदेखिएको उल्लेख छ भने केही ब्रोकरले डिजी हबको अलावा आफ्नै टीएमएस पनि सञ्चालनमा ल्याइसकेका छन्।
यसैक्रममा नासा सेक्युरिटिजले ‘नासा एक्स’ नामक आफ्नै टीएमएस सञ्चालनमा ल्याएको छ।
हाल नेपाल स्टक हाउस प्रालि, रोडशोक सेक्युरिटिज, अरुण सेक्युरिटिज, ओपल सेक्युरिटिज, स्वर्णलक्ष्मी सेक्युरिटिज, कालिका सेक्युरिटिज, एनएआईएमबी स्टक मार्केट्स लिमिटेड, हिमालयन ब्रोकरेज कम्पनी लिमिटेड, डाइनामिक सेक्युरिटिज र सेक्युर्ड सेक्युरिटिजले डिजी हबको टीएमएस प्रयोगमा ल्याएका छन्।
यी कम्पनीसँग आबद्ध लगानीकर्ताले बजार बढ्दा पनि आफ्नो शेयर बेच्न नपाएको गुनासो गरेका छन्।












