उद्धारको नाममा २ अर्ब ९० करोडको ठगी, सिआइबीको अप्रेसनमा ६ जनालाई पक्राउ

काठमाडौँ । सिआइबीले उद्धारको नाममा ठगी गरेको आरोपमा ६ जना पक्राउ गरेको छ। नेपाल घुम्न आउने पर्यटकलाई उद्धार गरेको देखाएर बीमा दाबी गरी ठगी गरेको आरोपमा तीन रेस्क्यु कम्पनीका सञ्चालक र व्यवस्थापकहरू पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा माउन्टेन रेस्क्यु नेपालका सञ्चालक जयराम रिमाल र व्यवस्थापन विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका अध्यक्ष रवीन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, तथा एभरेष्ठ एक्सिपिरियन्सका सञ्चालक मुक्ति पाण्डे र सञ्चालक तथा प्रबन्धक सुभाष केसी रहेका छन्।
सिआइबीले ७ वर्षअघि सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनलाई आधार बनाएर थप साढे दुई महिनासम्म अनुसन्धान गरी उनीहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका विरुद्ध ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाइएको छ।
अनुसन्धानका क्रममा सिआइबीका डिएसपी दानबहादुर थापाले माउन्टेन रेस्क्यु सर्भिसले १७१ जनाको शंकास्पद उद्धार गरेको पत्ता लागेको बताए। त्यस्तै, नेपाल चार्टर सर्भिसले ७५ जना र एभरेष्ठ एक्सिपिरियन्स एण्ड एसिसटेन्सले ७१ जनाको शंकास्पद उद्धार गरेको निष्कर्ष सिआइबीले निकालेको छ।
सिआइबीले ठगीमा संलग्न हेलिकोप्टर कम्पनी तथा अस्पतालमाथि पनि अनुसन्धान भइरहेको जानकारी दिएको छ। सीआईबीले सार्वजनिक गरेको तथ्यांक अनुसार यी तीन कम्पनीले मात्र कुल १९.६९ मिलियन अमेरिकी डलर (करिब २ अर्ब ९० करोड नेपाली रुपैयाँ) बराबरको शंकास्पद बीमा दाबी गरेको पाइएको छ।
सबैभन्दा बढी माउन्टेन रेस्क्यु सर्भिस प्रालिले १,२४८ जनामध्ये १७१ जनाको उद्धारलाई शंकास्पद देखाएर १ करोड ३ लाख १० हजार २७६ डलर दाबी गरेको छ।
त्यस्तै, नेपाल चार्टर सर्भिस प्रालिले ४७१ जनाको उद्धारमा ७५ जनाको फेक रेस्क्यु गरी ८२ लाख ३४ हजार ८२ डलर र एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिले ६०१ मध्ये ७१ जनाको शंकास्पद उद्धार देखाएर ११ लाख ५३ हजार ९१९ डलर दाबी गरेको सीआईबीको प्रतिवेदनमा उल्लेख छ।












