राष्ट्र बैंकका गभर्नर पौडेल र आरबीआईका गभर्नर मलहोत्राबीच भेटवार्ता

काठमाडौं । नेपाली नागरिकले भारत भ्रमणका क्रममा क्यूआर कोडमार्फत हुने भुक्तानीलाई थप सहजीकरण गरिने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल र भारतीय रिजर्ब बैंक (आरबीआई) का गभर्नर सञ्जय मलहोत्राबीच भएको भेटघाटमा उक्त विषयमा थप सहजिकरण गरिने छलफल भएको हो ।
गत साता मुम्बईस्थित आरबीआईको मुख्यालयमा राष्ट्र बैंक र आरबीआईका गभर्नरबीच भेटवार्ता भएको हो । भेटवार्तामा नेपाल र भारतबीच हुने अन्तरदेशीय विद्युतीय भुक्तानी कारोबार र दुईपक्षीय हितका विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ । भेटका अवसरमा नेपाली नागरिकले भारत भ्रमणका क्रममा क्यूआर कोडमार्फत हुने भुक्तानीलाई सहजीकरण गर्ने विषयमा छलफल केन्द्रित थियो ।
यसैगरी, मौद्रिक नीति, तरलता व्यवस्थापन, विदेशी विनिमय व्यवस्थापन, आर्टिफिसियल इन्टिलिजेन्समा आधारित सुपरीवेक्षण, सूचना प्रविधिको क्षेत्रमा आरबीआईले गरेका असल नीतिगत अभ्यासबारे छलफल भएको बताइएको छ ।
भेटघाटमा वित्तीय क्षेत्रका उदीयमान र समसामयिक मामिलासँगै दुईपक्षीय सहयोग आदानप्रदानका विषयमा समेत छलफल भएको थियो । नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक किरण पण्डित, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक सत्येन्द्र तिमिल्सिना र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले विभागका कामकारबाहीसँग सम्बन्धित विभिन्न विषयमा आरबीआईसँग सहकार्य गर्न सकिने विचार राखेका थिए ।












